काव्यमा सुगन्ध खोज्दै रेग्मी

पर्वत । साहित्यकार टुकनाथ रेग्मी ‘बेलुराम’ द्वारा लिखित ‘हरितारा’ खण्डकाव्य सार्वजनिक भएको छ ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृतिको विमोचन गर्दै मुलुक निर्माणका लागि आफ्ना पाखा पखेरालाई हराभरा बनाउनुपर्ने धारणा राखे । उनले गाउँमै बसेर पनि आम्दानी गर्न सकिन्छ, भन्ने सन्देश खण्डकाव्यले दिएको बताए । उनले भने, ‘वैदेशिक रोजगारी नेपालीको बाध्यता भए पनि अब विदेशमा आर्जन गरेको सीप र पुँजीलाई देश विकासमा लगाउनु पर्दछ ।’

नेपाली समाजका यथार्थपक्षलाई सिर्जनामार्फत अभिव्यक्ति दिँदै आएका रेग्मीले वैदेशिक रोजगारीले निम्ताएको समाजिक परिवेशलाई कृतिमा चर्चा गरेका छन् । नेपालबाट वैदेशिक रोजगारीमा जाने र बसाइँ सरेर सहर झर्ने युवालाई स्वदेश र गाउँमै बस्न आग्रह गरेर यो खण्डकाव्य रचिएको रेग्मीले बताए ।

नेपाल स्वर्गको एक अंश भएको बताउँदै आफ्नै पाखापखेरामा सुन फलाउन उनले कृतिमार्फत युवालाई आग्रह समेत गरेका छन् । गाउँघरमा जमिन बाँझिएको, पारिवारिक विखण्डन बढेको, धार्मिक र सांस्कृतिक विचलन बढेको विषयमा खण्डकाव्यमा उल्लेख छ । कृतिले बसाइँसराइ र वैदेशिक रोजगारीमा नगई गाउँघरमा नै उद्यम तथा मेहनत गर्न यो काव्यले सन्देश दिएको छ । हरि र तारा पात्रमार्फत जन्मभूमिको माया जगाउन रेग्मीले प्रयास गरेका छन् ।

‘गाउँका जग्गा, अन्नका रास, खेत र बारी
जन्मेको भूमि मुटु झै प्यारो, हे मेरी पियारी’

पर्वतलाई कर्मक्षेत्र बनाएर साहित्य सिर्जना गर्दै आएका रेग्मीले यसअघि ‘बेलूराम’ खण्ड काव्य प्रकाशित गरिसकेका छन् ।

प्रतिक्रिया