३ खर्ब ५० अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामै व्यापार घाटा ३ खर्व ५० अर्ब रुपैयाँ हाराहारीमा पुगेको छ । निर्यातको तुलनामा आयात निक्कै उच्च हुँदा व्यापार घाटा आकाशिएको हो ।

असोज मसान्त सम्ममा २३ अर्ब ७४ करोडको निर्यात हुँदा आयात भने ३ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुग्दा व्यापार घाटा ३ खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । निर्यात अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि हुँदा आयत ४३ प्रतिशतले वढेको छ ।

ऊनी, गलैँचा, दन्तमन्जन लगायत वस्तुको निर्यात हुँदा मुलुकमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पाटपुर्जा, सवारी साधन, दूरसञ्चार तथा अन्य महङगा मेसिनरी सामानको आयात उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको ३ महिनाको अवधिमा व्यापार घाटा ४५ दशमलव ९ प्रतिशतले बढेर ३ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकद्वारा आइतबार जारी समीक्षामा उल्लेख छ ।

भारततर्फ २० दशमलव २ प्रतिशत, चीनतर्फ १४ दशमलव ४ प्रतिशत र अन्य मुलुकतर्फ ११ दशमलव २ प्रतिशतले निर्यात वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । वस्तुगत आधारमा पोलिस्टर, जस्तापाता, ऊनी गलैँचा, पश्मिना, दन्तमञ्जनलगायतका वस्तुको निर्यात बढेको छ ।

अलैँची, रोजिन, छाला, जिआई पाइप, आल्मुनियम लगायतका वस्तुको निर्यात घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ । दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, टेलिभिजन तथा पार्टपूर्जा, स्वास्थ्यसम्बन्धी उपकरण तथा औजारलगायतका वस्तुको आयात घटेको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय, नेपालगञ्ज, कृष्णनगर, कैलाली भन्सार कार्यालय, कञ्चनपुर भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ । अन्य भन्सार नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ समीक्षा अवधिमा कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा ह्रास आएको छ भने अन्य नाकाबाट भएको आयात वृद्धि भएको छ । समीक्षा अवधिमा खुद सेवा आय १९ अर्ब ८१ करोड रुपैयाँले घाटामा गएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६ अर्ब १३ करोड थियो । सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ५ दशमलव ६ प्रतिशतले वृद्धि भई १५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

यसैबीच, अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सख्या ३६ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सख्या २ दशमलव ६ प्रतिशतले घटेको थियो । सो अवधिमा मलेसिया जाने नेपालीको सख्या उल्लेख्य मात्रामा घटेको छ ।

चालु खाता एवं शोधनान्तर स्थिति समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई रु ८१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८२ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७१ करोड ६९ लाख पुगेको छ । शोधनान्तर खाता ३५ अर्ब ४२ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर खाता चार अर्ब २७ करोड रुपैयाँले बचतमा थियो ।

प्रतिक्रिया