सेवाबाट पलायन हुँदै अफगानी सेना

एजेन्सी, काबुल । तालिबानी लडाकूसँगको भिडन्तमा अनगिन्ती साथीहरू गुमाएसँगै अफगानी सुरक्षाकर्मीहरू सेवाबाट पलायन हुन थालेका छन् । अझ, कतिपय सैनिकको तलब सेनाका उच्च अधिकारीले नदिएको उनीहरूको गुनासो छ । अफगानी सेनामा कार्यरत बेग मात्र होइन त्यस्तो सोचाइमा धेरै अफगानी सेना पुगेको पाइएको छ ।

विगत १७ वर्षदेखिको हिंसात्मक द्वन्द्वमा तालिबानले एकपछि अर्को सफलता प्राप्त गर्नुका साथै अफगानी सेनाको मृत्युको संख्या पछिल्लो समय एकाएक बढेको छ । सन् २०१५ देखि मुलुकको सुरक्षा जिम्मेवारी पाएको अफगानी सेना र प्रहरीका झण्डै ३० हजारको मृत्यु भइसकेको छ । अफगान राष्ट्रपति अस्ररफ घानीले हालै मात्र सार्वजनिक गरेको यस तथ्यले सरकार र विद्रोही पक्षमा भएको हताहत हुने ठूलो संख्या देखाएको छ ।

दैनिक करिब २० अफगान सैनिकको मृत्यु भइरहेको छ । ‘यहीक्रमले अफगानी सेनाको मृत्यु भइरहने हो भने नयाँ भर्ना हुने व्यक्ति नै फेला पार्न कठिन छ,’ सैनिक विश्लेषक अतिकुल्लाह अमरखाइलले बताए । भयावह मृत्युदरले पहिल्यै कमजोर रहेको फौजको मनोबल अझ खस्केको छ । सन् २०१८ को तेस्रो चौमासिकमा करिब ९ हजार सैनिक कटौती भएको छ, र सैनिक परिचालनको कुल संख्या तीन लाख १२ हजार मात्र भएको छ ।

सैनिक कटौती हुनुको प्रमुख कारण बढ्दो चोटपटक र घर बिदामा गएकाहरू नफर्किनु रहेको बताइएको छ । अफगानी सैनिक बेग पनि घर बिदाबाट काममा नफर्केका एक जना हुन् । ‘लडाइँमा दिनहुँ ५ देखि १० जना साथी गुमाएको देखेको छु’ २६ वर्षीय बेगले बताए । उनी उत्तर प्रान्त जोजानमा खटिएका थिए । ‘मेरो युनिटमा तालिबानले दुईपटक आक्रमण गरेका थिए, तर ईश्वरको कृपाले मात्र बाँच्न सफल भएँ । अब त फेरि त्यहाँ जान्नँ । म अब गाउँमै फर्किएर श्रमिक काम गर्नेछु,’ उनी भन्छन् ।

एक विवरणअनुसार सन् २०१५ मा मात्र पाँच हजार अफगान सैनिक मारिएका थिए । युद्धमा कठिन हुने देखिएपछि सन् २०१७ यता सरकारले मृत्यु भएका सेनाको विवरण सार्वजनिक गर्न बन्द गरेको छ । अमेरिकी संस्था सिगारलाई अफगानिस्तानमा तैनाथ नेटोले दिएको विवरणमा विगतभन्दा परिस्थिति अझ विकराल बनेको उल्लेख छ ।

एकजना २४ वर्षीय सैनिक आशीकुल्लाह भन्छन्, ‘हरेक दिन हाम्रा साथीहरू मरिरहेका छन् । हामीसँग राम्रा उपकरण पनि छैनन् । त्यही कारण धेरै साथीहरूले सैनिक सेवा छाडेका छन् वा मारिएका छन् ।’ मृत्यु हुने र घाइते हुनेक्रम बढेसँगै अफगानिस्तानका कतिपय क्षेत्रमा नयाँ भर्ना गर्न कठिन भएको छ, गृहमन्त्रालयका भर्ना प्रमुख मोहम्मद दाउदले स्वीकार गरे । नाम नबताउने शर्तमा एक जना अधिकारीले भने– उत्तरी प्रान्त बाल्खको प्रहरी भर्ना केन्द्रमा झण्डै ८० प्रतिशतले कमी आएको छ ।

तर, जलालाबाद राजधानी रहेको नान्गरहरको एक केन्द्रले भने भर्ना हुन चाहनेको संख्या बढी रहेको जनाएको छ । रक्षा मन्त्रालयका प्रवक्ता जावद अहमद गफोरले सेनामा भर्ना हुन चाहनेको संख्यामा कुनै कमी नआएको दाबी गरे ।
नान्गरहरमा भेटिएका २४ वर्षीय फज्लुल्लाहले आफू मुलुकको सुरक्षाका लागि प्रतिबद्ध रहेको र सेनामा भर्ना हुन चाहेको बताए ।

अफगान र अमेरिकी सैनिकले भने विद्रोही लडाकूतर्फ पनि ठूलो क्षति भएको बताएका छन् । तर जतिसुकै लडाकू मारिए पनि लडाइँमा कुनै कमी आएको छैन । ‘उनीहरूले हरेक रात आक्रमण गरिरहेकै छन्,’ घाज्नीका २९ वर्षीय एकजना प्रहरी अधिकारी इनायातुल्लाहले बताए । बारुदी सुरुङ विस्फोटमा उनी दुईपटक घाइते भइसकेका छन् । ‘केही दिनभित्रै मेरो जागिर सकिँदैछ र म फेरि भर्ना हुन्न ।’

प्रतिक्रिया