विराटनगरबाट माउन्टेन फ्लाइट

विराटनगर । प्रदेश–१ मा हिमाल हेर्नका लागि स्वदेशी तथा विदेशीलाई सहज रूपमा अवलोकन गर्न आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) सुरु गरिएको छ ।

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, प्रदेशका मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजंघा, ल्होत्से, मकालु, लगायतका हिमशिखरको उडानबाट अवलोकन गरे ।

मुख्यमन्त्री राईले प्रदेशको समृद्धका लागि पर्यटन क्षेत्रको विकास महत्वपूर्ण रहेको बताए । माउन्टेन फ्लाइटबाट अवलोकनपश्चात् आयोजित कायक्रममा उहाँले यस प्रकारको उडानबाट पर्यटन व्यवसायको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेशभित्र रहेका पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्न प्रदेश सरकार लागि परेको बताउँदै उनले छिमेकी मुलुकका पर्यटक आवागमबाट पर्यटन व्यवसायी र रोजगारीमा वृद्धि हुने धारणा व्यक्त गरे । प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेकाले सरकार हातेमालो गर्न तयार रहेको उनले बताए । मुख्यमन्त्री राईले हिमाली उडान नियमित गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यति एयरलाइन्सको भाडामा लिइएको उक्त विमानबाट प्रत्येक शनिबार बिहान हिमाल उडान हुने बताइएको छ । छिमेकी देश भारतका पश्चिम बंगाल, विहार, उत्तरप्रदेश र बंगलादेशका पर्यटक उक्त उडानबाट लाभान्वित हुने विराट होलिडेजका अध्यक्ष भविष्यकुमार श्रेष्ठले बताए । हिमाल उडान ५५ मिनेटको हुने छ । नेपाली तथा भारतीयलाई ९ हजार ९ सय शुल्क कायम गरिएको छ भने अन्य देशका पर्यटकका लागि १ सय ५६ अमेरिकी डलर रहेको छ । उक्त उडानवाट प्रदेशमा रहेका आठ हजार मिटरमाथिका हिमशृंखला अवलोकन गर्न पाइने छन् । काठमाडौँबाट हिमाली उडानका लागि प्रतियात्रु ११ हजार ६ सय ३५ रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया