विदेशी चरा चितवनमा

 चितवन । रुस, भारत, चीन, श्रीलंकालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् ।

सौराहास्थित बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेस र भित्री मधेसमा आइपुगेको बताए । सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् ।

नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार किलोमिटरभन्दा बढी छ । ती चरा सगरमाथामाथिबाट समेत उडेर आउने गरेको उनको भनाइ थियो ।

लामो दूरीबाट आउने हुँदा ठाउँठाउँमा बस्दै जाडो छल्न आउने ती चराले यो समयमा प्रजनन कार्य गर्दैनन् । असोज महिनादेखि नै आउन सुरु गरेका चरा चैत महिनामा फर्कने गरेको उनले जानकारी गराए । नेपालकै हिमाली क्षेत्रबाट पनि चरा मधेस झरेका छन् ।

बिडारीका अनुसार १ सय ५० भन्दा बढी प्रजातिका चरा चितवन आइपुगेका छन् । पानीमा आश्रित ती चरा चितवन राष्ट्रिय निकुञ्जभित्रका ताल र राप्ती नदी वरपर बस्ने गर्दछन् । मंसिर १५ गतेपछि पानीमा आश्रित चरा गणना गर्ने गरिन्छ । गत वर्ष नेपाल बाहिरबाट ५२ प्रजातिका चरा यहाँ आएको उनले बताए ।

उक्त सोसाइटीका अध्यक्ष सरस्वती सेढाईंले प्रत्येक वर्ष बाहिरबाट आउने चराका प्रजाति बढदै आएको छ भने । गणनाका वेला विभिन्न प्रजातिका निकै देख्न सकिने चरा साइबेरियाभन्दा परबाट समेत आउने भएपछि यस समयमा चरा हेर्न रुचाउने पर्यटक बढी आउने जानकारी उनले दिए ।

उक्त सोसाइटीका अनुसार नेपालमा ८ सय ८७ प्रजातिका चरा रहेकामा ६ सय ३५ प्रजाति चितवनमा पाइन्छन् । यहाँ रहेको चितवन राष्ट्रिय निकुञ्जमा गर्मीयाममा पनि चरा धेरै देख्न सकिने भएपछि पर्यटकको आकर्षण चरा पनि बन्ने गरेको छ ।

प्रतिक्रिया