मध्य मेवाखोला जलविद्युत् आयोजना बन्ने

ताप्लेजुङ । मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मेवा डेभलपर्स प्राइभेट लिमिटेडले आगामी पाँच वर्षभित्रै आयोजना निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणको कार्य थालनी गरेको छ ।

करिब ९ अर्बको लागत अनुमान गरिएको आयोजना निर्माणका लागि उक्त कम्पनीले दुई वर्षअघि नै सर्वेक्षण अध्ययन अनुमति लिई विस्तृत अध्ययन गर्दै आएको छ । हाल आयोजनाका लागि सडक विस्तार भइरहेको छ भने जग्गा खरिद र पिपिएको कार्य सकिएको कम्पनीका इन्जिनियर भानु पोख्रेलले बताए ।

उनका अनुसार अबको एक वर्षभित्रै आयोजनाको निर्माण कार्य सुरु गरिनेछ । कम्पनीले मंसिर ५ गते आयोजना प्रभावित क्षेत्रका स्थानीयसँग अन्तक्र्रिया गरेको जनाएको छ । यस्तै, फुङ्फुंगे झरना छेउमा इनटेक र लिवाङको नाबामा पावर हाउस राख्ने कम्पनीको लक्ष्य रहेको आयोजनाका अध्यक्ष तथा सांसद वसन्तकुमार नेम्वाङले बताए ।

तीन महिनाभित्र परियोजनाको आइई प्रतिवेदन आउने इन्जिनियर पोख्रेलले जानकारी दिए । फुङ्फुंगे झरना छेउमा ८७ मिटर लम्बाइ र २० मिटर चौडाइको बाँध बाँध्ने र ६ किलोमिटर सुरुङ निर्माण गरिने कम्पनीको भनाइ छ । आयोजनाका विभिन्न संरचनामा पुग्न हेडबक्सबाट पावर हाउससम्म करिब आठ किलोमिटर सडक र ढुंगेसाँघु सवस्टेसनसम्मको १ सय ३२ केभीको करिब १३ किलोमिटर प्रसारण लाइनसमेत निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया