हिउँचितुवा संरक्षण अभियान

ठिनी । मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिउँचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिउाँँलको ‘रानी’ भनेर चिनिने हिउँचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो ।

थर्ड पोल कञ्जरभेन्सी, रुफड फाउन्डेसन, स्नो लियोपार्ड कन्जरफेन्सी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सँगको सहकार्यमा मोडिफिकेसन जोमसोमले समुदाय, विद्यालय र कृषिस्तरमा हिउँचितुवा संरक्षणका लागि विभिन्न गतिविधि गर्दै आएको छ ।

हिउँचितुवा गणना, बासस्थानको पहिचान र संरक्षणका लागि गत हप्ता समुद्री सतहदेखि ३ हजार ५ सय मिटरदेखि ४ हजार मिटरको उचाइमा अवस्थित लुप्राको लेकमा विद्यार्थी र संरक्षण शिक्षकलाई हिउँँचितुवाको गणनाका लागि क्यामेरा ट्यापिङ गर्ने प्रविधिका बारेमा स्थलगत तालिम दिइएको छ । तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा १० जना विद्यार्थी र पाँच जना शिक्षकलाई हिउँँचितुवाको महत्वका बारेमा जानकारी गराउनुका साथै गणनाका लागि क्यामेरा ट्यापिङ गर्ने विषयमा प्राविधिक ज्ञान, सीप प्रदान गरिएको स्नो लियोपार्ड कन्जरभेन्सीका प्रतिनिधि पेमा गुरुङले बताए ।

गुरुङ, एक्यापकी रेञ्जर धनु गुरुङ र थर्ड पोल कन्जरभेन्सीकी जमुना प्रजापतिले कार्यक्रमको सहजीकरण गरेकी थिइन् । जनशान्ति मावि कागबेनी, लुप्रा आधारभूत विद्यालय, धवलागिरि आवासीय विद्यालय जोमसोम, जनहित मावि जोमसोम र जनकल्याण आधारभूत विद्यालय स्याङका शिक्षक विद्यार्थीले हिउँँचितुवाको चित्र प्रदर्शनीका साथै कविता वाचन गरेका थिए ।

मुस्ताङको ठिनी, छुसाङ, चराङ, घमी, सुर्खाङ, लोमान्थाङ, छोन्हुप र छोसेरको माथिल्लो क्षेत्रमा हिउँँचितुवाको बासस्थान रहेको छ । केही वर्षअघि गरिएको क्यामेरा ट्यापिङका क्रममा ठिनी क्षेत्रमा चार वटा हिउँँचितुवा भेटिएको थियो ।

भेडा, च्याङ्ग्रालगायत घरपालुवा बस्तुभाउमाथि आक्रमण गर्ने क्रमसँगै पछिल्लो समय मुस्ताङका कृषक र हिउँँचितुवाबीच बढेको द्वन्द्व हिउँँचितुवा संरक्षणका लागि चुनौती बनेको छ । द्वन्द्व न्यूनीकरणको उपाय पहिचान गरेर हिउँँचितुवा संरक्षणका लागि समुदायस्तरमा जनचेतनामूलक गतिविधि गरिएको मोडिफिकेसन जोमसोमका अध्यक्ष नीरज थकालीले बताए ।

प्रतिक्रिया