चित्रमा विविधता खोतल्दै सिग्देल

महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा यतिखेर पुग्ने जो कोही पनि भित्तामा झुण्ड्याइएका कलालाई घोरिएर नियाल्ने गर्छन् । झट्ट हेर्दा अलमलमा पर्ने प्रत्येक कलाप्रेमी केही बेरपछि भने जीवन र जगत्का धेरै कुरा एउटै कलामा पाउँदा अचम्म पर्दै फर्किन्छन् ।

ग्यालरीमा गत कात्तिक ३० गतेदेखि आयोजित युवा कलाकार सुनील सिग्देलको एकल कला प्रदर्शनी हेर्न कलाप्रेमी दिनप्रतिदिन पुग्ने गरेका हुन् । यही मंसिर ७ गतेसम्म आयोजना गरिने उक्त प्रदर्शनी उनको व्यक्तिगत सातौँ प्रदर्शनी हो । प्रदर्शनीमा १७ वटा कला राखिएको छ । योसँगै सिग्देल झण्डै ४० वटा सामूहिक प्रदर्शनीमा समेत सहभागी भइसकेका छन् ।

जीवन र जगत्का भोगाइ तथा समाजको वास्तविकतालाई कलामा उतार्न आफूलाई निकै मनपर्नेे बताउँदै उनले आफ्ना सिर्जनामा त्यस्तै विषयवस्तुलाई समेट्ने गरिएको जानकारी दिनुभयो ।

‘कला भनेको यही नै हो भन्ने नभइ भावनानुसार बनाइने सिर्जना हो, सर्वसाधारणले त्यसलाई कसरी बुझ्छन् त्यो नै महत्वपूर्ण हो,’ सिग्देलले थपे । पछिल्लो समयमा एउटै कलाभित्र विभिन्न दृश्य, विम्ब, प्रतिविम्ब अभिव्यक्त गर्ने क्रमले गति लिँदै गएको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले बताए ।

‘कला सिर्जनाको प्रारम्भतिर आँखाले देखिने मानिस, पहाड आदिलाई जस्ताको त्यस्तै उतार्ने गरिन्थ्यो,’ उनले भने, ‘समयको गतिसँगै फेटोग्राफीको विकासले कला सिर्जना गर्नेका लागि थपिएको चुनौतीलाई आत्मसात् गर्दै कलाकारले मानिसका भावना एवं विविधतालाई कलामा उतार्न सुरु गरेका हुन् ।’ सिग्देलले आफ्ना कलामा तिनै विविधतालाई देखाउने गरेको बताए ।

प्रदर्शनीमा विश्व राजनीतिमा उदयीमान् नेतृत्व, विचारक, समाजको गति, राजनीति, जीवनचक्रलगायत विषयलाई कलामार्फत प्रस्तुत गरिएको पाइन्छ । उमेरले चार दशक पुगेका सिग्देलले यसबीचमा धेरै कला सिर्जना गरिसकेका छन् । उनले नेपालसहित भारत, बेलायत, जापान, डेनमार्क, बंगलादेश, पाकिस्तान, ताइवान, श्रीलंका, हङकङ, दक्षिण कोरियाजस्ता मुलुक पुगी कला प्रदर्शनी गरिसकेका छन् ।

पोखराको अमरसिंह माविमा पढ्दादेखि नै चित्र कोर्नेतर्फ आफ्नो रुचि जागेको बताउने सिग्देल त्यसपछि कलाकै अध्ययनका लागि काठमाडौंको ललितकला क्याम्पसबाट स्नातकसम्म अध्ययन गरेको जानकारी दिए । विद्यालयमा अध्ययन गर्दा सुरुमा शिक्षक यादवचन्द्र भूर्तेलको प्रेरणा मिलेको बताउने उनले आफूले दुर्गा बराल (वात्स्यायन), शशी शाह र किरण मानन्धरलाई आदर्श व्यक्तिका रूपमा लिने गरेको छु भने ।

अध्ययन सकेसँगै निरन्तर कला क्षेत्रमा लागेका उनी आफ्नो पेसाप्रति निकै सन्तुष्ट छन् नै यस क्षेत्रमा आकर्षित युवालाई ढुक्कका साथअघि बढ्न प्रेरणासमेत दिन्छन् ।

बजारमा कलाको राम्रो मूल्य रहेको बताउँदै उनले आफूले विश्व राजनीतिलाई चित्रित गर्दै तयार गरेको एउटै कलाबाट १३ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिए । कलाका सम्भावनालाई उजागर गर्न सरकारी तवरबाट भने खासै चासो नदिइएको उनले दुःखेसो गरे ।

‘सरकारले अन्तर्राष्ट्रिय एवं राष्ट्रियस्तरका कला संग्रहालय बनाउन आवश्यक छ,’ उनले भने, ‘सरकारी कार्यालयमा खरिद गरेर राखिएका कलालाई इज्जत रहने गरी राखिनुपर्छ, लगेर फोहोर ठाउँमा राख्ने र फाल्ने प्रवृत्ति कलाप्रतिको अपमान हो ।

सिग्देलको कलाकारिता नवोदित कलाकारका लागि प्रेरणादायी भएको पोखरेली पत्रकार विनोद लामिछानेले बताए । व्यावसायिक कलाकारितामा सिग्देल स्थापित भएको बताउँदै उनले कलाको व्यावसायिक विकासबाट मात्रै यो क्षेत्र बाँचिरहन्छ भन्ने कुरा उनले प्रस्टाए ।

‘एउटा चित्रभित्र समाजका यावत् पक्षलाई जीवन्त चित्रण गर्नु सिग्देलको विशिष्टता हो,’ लामिछानेले थपे, ‘विश्व राजनीतिदेखि राष्ट्र र समाजका विविधतापूर्ण विषयलाई उनका कलामा जीवन्त चित्रण गरिएको छ ।’

सामाचकेवा पर्वः प्रेम र आत्मीयताको सन्देश
गोपालप्रसाद बराल
‘वृन्दावनमें आइग लगै, कोई नई मुझाव रे…
हमर भैया …(फलना) भैया , दौडी–दौडी मुझाव हे..!! (वृन्दावनमा आगो लाग्दा निभाउने कोही भएन, मेरा दाजु (दाजुको नाम जोड्दै) दौडँदै आएर त्यो आगो निभाए)

महोत्तरीसहितका मिथिलाक्षेत्रमा कात्तिक शुक्लपञ्चमीका दिन सुरु गरेर कात्तिक पूर्णिमाका दिन समापन गरिने सामाचकेवा पर्वमा मिथिलानी (मिथिलाका नारी) ले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै गीत गाइरहेका छन् ।

कात्तिक शुक्लपक्षको पछिल्लो ११ दिनभित्र चकमन्न रातमा आफ्नो बस्तीको चौबाटामा भेला भएर आआफ्ना दाजुभाइको बहादुरी वर्णन गीतमा गुञ्जाउँदै मनाइने यो पर्व अब समापनको सँघारमा छ । पूर्णिमा तिथिको रात्रिभोग भएका दिन ‘सामा खेल’ भनिने सामाचकेवा पर्व समापन गर्ने परम्पराअनुसार यसपालिको यो पर्व आजै बिहीबार राति समापन गरिन्छ । कात्तिक पूर्णिमा शुक्रबार बिहानभरि रहने भए पनि पूर्णिमाको रात्रिभोग आजै भएकाले पर्व आजै राती समापन हुने मिथिलानी बताउँछन् ।

पर्वमा गाइने गीत सबै दाजुभाइको सौर्य (बहादुरी) वर्णनको भाव समेटिएका हुन्छन् । कसैलाई आपत् पर्दा, दिदीबहिनीलाई अप्ठ्यारो पर्दा तथा बस्ती वरपर कुनै समस्या आइपर्दा त्यसको समाधान मेरै दाजु वा भाइले गरिरहेका हुन्छन् भन्ने भावका गीत आ–आफ्ना दाजुभाइको नाम नै जोडेर मिथिलानी गाउँछन् । यस्ता गीत सुन्दा दिदीबहिनी नहुनेहरूले ‘मेरा चाहिँ दिदीबहिनी किन भएनन् ?’ भन्ने गुनासो गरेको भेटिन्छ

द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले आफ्नै पिताको श्रापले चराको जुनीमा पुगेकी आफ्नी बहिनी सामा र उनका प्रेमी चक्रधर (चकेवा) को श्रापमोचनका लागि गरेको कठोर तपस्याको सम्झनामा दिदीबहिनीले दाजुभाइको सम्मानमा यो पर्व मनाउने चलन बसेको मानिन्छ ।

सामा र चक्रधरको प्रेमबारे बढाइचढाइ श्रीकृष्णलाई एउटा चुगला (कुरौटे) ले कुरा लाएपछि रिसाएका श्रीकृष्णले दुवैलाई चरा हुने श्राप दिएको प्रसंग नै पर्वको मुख्य कथावस्तु रहेको याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानी (महोत्तरी) का उपप्राध्यापक ध्रुव राय बताउँछन् ।

पिताको श्रापले चरा भएकी आफ्नी बहिनी सामा र उनका प्रेमीको श्रापमोचनका लागि साम्बले शिवको कठोर तपस्या गरेर पिता रिझाउन सक्ने वरदान दिएको र सो वरदानको प्रभावले पितालाई रिझाएर दुवैको श्रापमोचन गराएर विवाह गराएकाले दाजुको उपकार वर्णन पर्वमा गरिएको उपप्राध्यापक रायको भनाइ छ ।

पर्वमा कात्तिक शुक्लपञ्चमीका दिन माटो मुछेर बनाइएका वृन्दावन, सप्तर्षि, चुगला, चरा र दाजुभाइका आकृति दियो बालिएको डालामा राखेर चौबाटामा गीत गाइने मुख्य पक्ष रहेको छ ।

साम्बलाई तपस्या गर्न प्रेरणा दिने सप्तर्षि, साम्बले तपस्या गरेको ठाउँ वृन्दावन र साम्ब आकृति सकारात्मक पात्र, चरा कथाका मुख्य प्रतीक र चुगला आकृति नकारात्मक पात्रका रूपमा गीतमा उभ्याइने गरिएको सामाखेलमा सरिक महोत्तरी जिल्ला, भंगाहा नगरपालिका–४ कि सुनैना ठाकुर बताउँछिन् । यसबाहेक ढोलिया, भरिया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी र मलिनियाँ नाउँ दिइएका आकृति पनि पात्र हुन्छन् ।

माटो मुछेर बनाइएका आकृतिसँग पात्रअनुसारको गीति संवाद गरेर मिथिलानी मनोवाञ्छित फल प्राप्तिको कामना गर्छन् । उनीहरू आकृतिहरूलाई गीति भावमा ढालेर संवादको आनन्द उठाउँछन् । गीत गाइरहँदा गीतको भावनुसार वृन्दावनमा आगो लगाउन र चुगलाको मुखमा आगो झोस्न गीतसँगै मिथिलानीको हात पुगिरहेको हुन्छ । डालामा राखिएका सबै आकृतिसँग संवाद गर्दै गाइएका गीत जीवन्त पात्रका रूपमा उभ्याइन्छन् ।

गीत गाइने दैनिकी भित्रै महिलाले कुरौटेको मूर्तिमा आगो झोस्दै यस्तो प्रवृत्तिको कहिल्यै भलो नहुने आशयको गीत लयबद्घ रूपमा गाउनुका साथै आफ्ना दाजुभाइ भने ज्ञानी, परोपकारी, पराक्रमी, सहयोगी र दिदीबहिनी भनेपछि हुरुक्कै हुने आनीबानी रहेको भावलाई गीतिलयमा बाँध्न भने चुकाउँदैनन् ।

मिथिलामा दाजुभाइ दिदीबहिनी बीच प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने यो पर्व शुक्रबार समापन गर्न मिथिलानीहरू दाजुभाइलाई निम्ता गर्न व्यस्त छन् । ‘भैया, तुँ आइ सामा भसावबेर जरुर अइहा’ (दाजु, आज सामा समापन गर्ने बेला तपाईं अवश्य आउनुहोला) महोत्तरीकै बर्दिवास नगरपालिका–२ कि रेशमी दत्तले जनकपुर बस्ने दाजुलाई मोबाइलबाटै सम्पर्क गरेर निम्ता गरिन् ।

दाजुले जवाफमा ‘हो तै बहिनी’ (हुन्छ, बहिनी) भनेको कुराले खुसी भएकी रेशमीले अब दाजुका लागि मिष्ठान्न परिकार र वस्त्र परिधानको जोहोमा लाग्ने जानकारी दिइन् ।

सामा खेल्दा डालामा राखिने आकृतिहरू पूर्णिमाका दिन दाजुभाइले घुँडामा राखेर फुटाएपछि ती टुक्रा दिदीबहिनीले जोतेको खेतमा माटाले पुरेर सामा विसर्जन गरिने मैथिली परम्परा छ । सामा जोतेको खेतमा पुर्दा पनि ‘जोतल खेतमे बसिह हे, बसिह हे’ (अब वर्ष दिन जोतेकै खेतमा बस है) भन्ने गीत गाएर यो पर्व दिदीबहिनीले समापन गर्छन् ।

समापनका वेला दाजुभाइलाई वस्त्र परिधान लगाई दिने र मिष्ठान्न परिकार खुवाउने चलन छ । त्यसैगरी, दाजुभाइले पनि वस्त्र, आभूषण र गच्छेअनुसारको नगद दक्षिणा दिदीबहिनीलाई दिन्छन् । पर्वले आपसी प्रेम र आत्मीयता वृद्घि एवं सहयोग विस्तारमा सकारात्मक सन्देश दिएको बर्दिवास–९ पशुपतिनगरकी समाजशास्त्री वैजयन्ती गिरीको धारणा छ ।

प्रतिक्रिया