गिद्धको संख्यामा ह्रास

काठमाडौं । वातावरणको संरक्षणमा प्राकृतिक रूपमा सहयोगी बन्दै आएका गिद्ध दक्षिण एसियामा भने लोप हुँदै जान थालेका छन् । सन् १९९० देखि दक्षिण एशियामा गिद्धको संख्यामा निरन्तर ह्रास आउन थालेको एक अध्ययन अनुसन्धानहरूले देखाएको छ ।

२० वर्ष अघिसम्म हिमालदेखि तराईसम्मै सयौंका संख्यामा देखिने गिद्ध अहिले दुर्लभ हुँदै पृथ्वीबाटै लोप हुन सक्ने खतरा बढेको छ । प्रकृतिको कुचिकारका रूपमा चिनिने गिद्धहरू स्वस्थ आहारको कमी र वासस्थान विनाशका कारण लोप हुदै गएको विज्ञहरूको भनाई छ । शिकारी चरा समुह अन्तर्गत पर्ने मांसाहारी यो चराले सिनो र फालिएको मासुजन्य फोहोर खाने गर्दछ ।यो चराले आफैं शिकार भने गर्दैन ।

विश्वका २३ प्रजातिका गिद्धहरू मध्ये दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरू पाइन्छन् । नेपालमा हाडफोर, सेतो, डंगर, लामो ठूँडे, सानो खैरो, हिमाली, खैरो, राज र सुन गिद्ध गरी ९ प्रजातीका पाईन्छन् ।

नौ मध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धले नेपालमै गुँड बनाई बच्चा कोरल्छन् । राजगिद्ध, खैरोगिद्ध, लामो ठूँडे गिद्धहरूले सबै भन्दा अग्ला र ठूला रुख तथा चट्टानी पहराहरूमा गुँड बनाएर बस्छन् । यो पक्षीले ५ देखि ७ वर्षको भएपछि प्रजनन् सुरु गर्ने गरेका छन् । हाडफोर र गोब्रे गिद्ध प्रजाति बाहेककाले वर्षमा एउटा मात्रै फुल पार्छन् र ७५ दिनमा बच्चा कोरी ३ महिनामा उड्न सक्ने हुन्छन् ।

गिद्धले सिनो खोज्न तीन सय किलोमिटरभन्दा पनि टाढासम्म पुग्ने गरेकोछ । गिद्धको हेर्नसक्ने क्षमता मान्छेको भन्दा आठ गुणा बढी हुने र औषत तीन दिनमा एक केजीजति सिनो खाने गर्दछन् । गिद्धको संख्या घट्नुको मुख्य कारण घरपालुवा पशुको उपचारमा प्रयोग हुने डाइक्लोफेनेक नामक विषादी औषधि रहेको पुष्टि भएको छ ।

डाईक्लोफेनेक नामक विसादी ख्वाइएका पशु उपचारकै क्रममा वा ७ दिनभित्र मरेमा त्यसको विषाक्तपन सिनोखाने क्रममा गिद्धले खाने र मृगौलाले काम नगरेपछि मृत्यु हुने गरेको छ । सानो खैरो, डंगर, लामो ठूँडे र सुन गिद्धलाई अति संकटापन्न र सेतो गिद्धलाई संकटापन्न सूचीमा सूचीकृत गरिएको छ ।

प्रतिक्रिया