‘म त पिरिममा’ सार्वजनिक

काठमाडौं । निर्देशक सुवास कोइरालाले निर्देशन गरेको चलचित्र ‘गरुड पुराण’ को नयाँ गीत ‘म त पिरिममा’ सार्वजनिक भएको छ । आगामी ४ माघबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रको गीतको भिडियो बिहीबार बेलुका रिलिज गरिएको हो ।

गीतमा अभिनेता/निर्देशक निश्चल बस्नेतले अभिनय गरेका छन् । गीतमा निश्चलसँगै कर्मा, गरुड पुराणकी नवोदित अभिनेत्री प्रियंका सिंह ठकुरी र मोडल अञ्जली योञ्जनको नृत्य छ ।

रेनाशा वान्तवा राईको कोरियोग्राफी रहेको गीतमा कोशिस क्षेत्रीको संगीत रहेको छ । गीतलाई दिनेश राउतले लेखेका हुन् । गीतमा कोशिस र मनिषा पोखरेलको आवाज रहेको छ ।

पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि प्रशस्त रहेको निर्देशक कोइरालाले बताए । आकाश बराल, विनोद खतिवडा र सुवास आफैँले पटकथा सम्वाद लेखेको यो चलचित्रको कथा कसम नेपालको हो ।

चलचित्रमा प्रियंकासँगै नाजिर हुसेन, कर्मा शाक्य, कामेश्वर चौरसिया, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय छ । निर्माताको रूपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायांकन रहेको यो चलचित्रलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।

प्रतिक्रिया