स्टिलिर्ङ चितवनमा अनुबन्ध

काठमाडौं । चितवन टाइगर्सले आयरल्यान्डका विकेटकिपर पाउल स्टिलिर्ङलाई अनुबन्ध गरेको छ । टिभिएस एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटका लागि चितवनले उनलाई अनुबन्ध गरेको हो । इपिएलका लागि स्टिलिर्ङलाई अनुबन्ध गरेको चितवन टाइगर्सले बिहीबार निकालेको प्रेस विज्ञप्तिमा उल्लिखित छ ।

इपिएल आगामी मंसिर २२ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका लागि आयोजकले प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नियम बनाएको छ । जसअनुसार चितवनले स्टिलिर्ङलाई अनुबन्ध गरेको हो । अनुबन्धको रकम भने खुलाइएको छैन । निकै अनुभवी खेलाडी स्टिलिर्ङसँग बंगलादेश प्रिमियर लिग खेलेको अनुभव रहेको छ । इंग्ल्यान्डको काउन्टी मिडलसेक्सबाट खेलिसकेका २८ वर्षीय स्टिलिर्ङ अलराउन्डरसमेत हुन् ।

स्टिलिर्ङ अहिले युएइमा जारी टी–१० लिग खेलिरहेका छन् । उनी नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको केरला किङ्सबाट खेलिरहेका छन् । आयरल्यान्डबाट स्टिलिर्ङले १ टेस्ट, १ सय एकदिवसीय र ५२ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । यसअघि पोखरा राइनोजले स्कटल्यान्डकै केइल कोट्जरलाई अनुबन्ध गरेको थियो ।

प्रतिक्रिया