अर्थबजार

पर्यटकीयस्थल बन्दै रानी तलाउ

सौर्य अनलाइन २०७५ मंसिर ७ गते ९:५९ मा प्रकाशित

बाँके । नेपालगञ्जस्थित पुनः निर्मित रानीतलाउ आन्तरिक पर्यटकीयस्थल बन्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका ८ स्थित रानी तलाउको पुनर्निर्माण गरी सञ्चालनमा ल्याइएपछि अहिले यहाँ घुम्न आउने आन्तरिक पर्यटकको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ ।

प्रत्येक दिन ३ सयभन्दा बढी मानिस रानीतलाउ अवलोकन गर्न आउने गरेका छन् । बिदाको दिन भने भ्याइनभ्याई हुने गरेको रानीतलाउ सञ्चालनार्थ वडा कार्यालयबाट जिम्मेवारी पाएका कर्मचारी ऋषि मिश्राले बताए । ‘अरू वेलाभन्दा बिदाको वेला धेरै मान्छे आउने गरेका छन्,’ मिश्राले भने ‘बिदाको दिनमा एक हजार ५ सय भन्दा बढी मान्छेले टिकट काटेर घुम्ने गरेका छन् ।’ बिदाका दिनमा बच्चासहित सपरिवार घुम्न आउने भएकाले धेरै घुइँचो हुने गरेको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले दिनभर काममा खटिने उद्योगी, व्यापारी, पेसाकर्मी, गृहिणी र विद्यार्थीका लागि जलविहार गरी थकाइ मेटाउन रानीतलाउ एउटा उपयुक्त गन्तव्य बन्दै गएको उल्लेख गरे । खजुराबाट रानीतलाउ घुम्न आएकी सरिता हमालले डुंगा चढ्न पाइने सुनेकाले हेर्न आएको बताए । नेपालगञ्जमै डुंगा चढेर घुम्न पाउँदा आनन्द आएको उनले बताए । धेरैजसो नेपालगञ्जकै स्थानीयवासी आउने गरे पनि बाहिरी जिल्लाबाट काम विशेषले आउने सर्वसाधारणसमेत रानीतलाउ पुग्ने गरेका छन् ।

रानीतलाउमा प्रवेश शुल्क पाँच लिने गरिएको छ, भने जलविहारका लागि एक फन्को लगाएको २५ शुल्क लिने गरिएको छ । हाल चार वटा डुंगामार्फत जलविहार गर्ने गरिएको छ । बिदाको दिनमा चार वटा डुंगाले सेवा दिन अपुग हुने गरेको मिश्राले बताए । ८ नं वडा कार्यालयले रानीतलाउ सञ्चालन गर्दै आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको २२ लाख ७८ हजार लागतमा रानी तलाउको पुनर्निर्माण गरिएको हो ।

नगरप्रमुख डा. धवलशम्शेर राणा पहिलोपटक नगरप्रमुख भएको वेला ०५६ सालमा रानीतलाउको जीर्णोद्वार गरी नौका विहार सञ्चालन गरिएको थियो । पदबाट बाहिरिएसँगै रानीतलाउमा जलविहार गर्ने सुविधा पनि अन्त्य भएको थियो । अहिले उहाँकै सक्रियतामा रानीतलाउमा पुनः जलविहार गर्ने वातावरण बनेको छ ।

नगरप्रमुख डा. राणाले ऐतिहासिक रानीतलाउलाई जीवन्त राख्दै नगरको पयर्टन प्रवद्र्धनमा टेवा दिन नेपालगञ्ज उपमहानगरपालिका लागिरहेको बताए । रानीतलाउको चारैतिर पर्खाल निर्माण गरी जीर्ण बनेका भौतिक संरचना पुनर्निर्माण गरी रङरोगन गरिएको छ । बालबालिकाका लागि उद्यान, कटेज, बटुवा बस्नका लागि कुर्सी, खाजा, नास्ताका लागि क्यान्टिनको व्यवस्था गरिएको उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय