दुर्गा बिरहिको ‘केछ कोसेली’ सार्वजनिक

बाबुराम सिग्देल, काठमाडौँ । सांगीतिक क्षेत्रमा विभिन्न माध्यमबाट गीतहरु बजारमा सार्वजनिक हुने गरेका छन् । गीत गाउने कलाकार र म्युजिक कम्पनीका संचालक हरुले फरक-फरक धारबाट गीत बजारमा भित्र्याई रहेका छन् ।

कतिपय गीत रेकर्ड भइ शुटिङ सकिएर सम्पन्न भएलगत्तै युट्युब मार्फत सिधै सार्वजनिक भएका छन् भने कतिपय राम्रो लगानी अथवा राम्रो बनेको अनुमानले पत्रकार सम्मेलन गरी बिमोचन गर्दै पनी बजारमा ल्याउने क्रम जारी रहेको छ ।

कुनै गीत बिमोचन नगरी सिधै युट्युबमा राखेपनी ट्रेडिङमा परी उच्च आर्थिक हात पार्न सफल भएका छन् भने कुनैले बिमोचन गरेर सार्वजनिक गरेपनी लगानी समेत उठाउन सकेका छैनन् । यसैक्रममा ‘केछ कोसेली’ नाम गरेको गीत पनी यही मङ्सिर पाँच गते सोही गीतका टिम कलाकारले विभिन्न मिडियाका पत्रकारहरुको भेला गराई अनामनगरमा बिमोचन गरी सार्वजनिक गरेका छन् ।

आशिष म्युजिकका प्रबन्धक निर्देशक रामजी प्रसाद पन्तको सभापतित्व रहेको उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा प्रमुख अतिथी रहेका थिए । अन्य अतिथिमा प्रतिष्ठान समन्वय समितिका अध्यक्ष पिएन सापकोटा, बरिष्ठ उपाध्यक्ष सुजन लम्साल, शोभा त्रिपाठी, राष्ट्रिय लोक संचारकर्मी नेपालका अध्यक्ष  गोविन्द गिरी लगायतको उपस्थिति रहेको थियो ।

गीतमा गायिका देवी घर्ती र दुर्गा बिरहिको आवाज, रमेश बिजीको शब्द सृजना, गायक दुर्गा बिरहिकै लय रहेको कार्यक्रममा आयोजकले बताए । गीतको भिडियोमा मौसम हिमालीको निर्देशन, करण चैसिरको छायांकन र मनोज कार्कीले सम्पादन गरेको बताए । कार्यक्रममा गीतको भिडियो प्रदशन गरिएको थियो ।

आशिष म्युजिकको प्रस्तुती रहेको भिडियोमा मोडल पार्वती राई, पिएन सापकोटा, शोभा त्रिपाठी र धर्मेन्द्र बस्नेतको अभिनय रहेको छ । ‘केछ कोसेली’ गीतको शब्दमा पुरानो चलन अनुसार बिहे गरेर गएकी चेलीले माइत जाँदा सोलीमा पाहुर लैजाने चलनलाई दर्शाएको छ ।

तर अहिलेको समयमा त्यो चलन हट्दै गएको छ । शब्दमा सोलिको नाम भनिएपनी भिडियोमा भने सोलिको चित्रण नभई डोकोलाई चित्रण गरिएको छ । भिडियोमा डोको देखाइए पनी पुरानो रितिरिवाज भुल्न हुँदैन भन्ने संदेश गीत र भिडियो मार्फत दिएको आयोजकले बताए ।

गीतले सफलता मिल्ने आशा लिएको र संचार माध्यमबाट पनी समाचार सम्प्रेषण गरी प्रचार गर्न कार्यक्रममा स्वागत मन्तब्य दिँदै गायक दुर्गा बिरहीले पत्रकारहरुलाई आग्रह गरे । शुभकामना मन्तब्य दिँदै चन्द्र शर्माले गीतको शब्द उत्कृष्ट भएको र  भिडियो पनी राम्रो बनेको भन्दै पत्रकारहरुलाई समाचार सम्प्रेषण गरेर सहयोग गर्न आग्रह गर्दै शुभकामना दिए ।

प्रतिष्ठान समन्वय समितिका बरिष्ठ उपाध्यक्ष सुजन लम्सालले पनी मङ्सिर १ गते लोकदोहोरी अवार्ड मनोनयन कार्यक्रममा पत्रकारहरुले राम्रो समाचार सम्प्रेषण गरि सहयोग गरेकोमा धन्यवाद दिँदै यस गीतलाई पनी त्यसरीनै सहयोग गर्न आग्रह गरे । गीतको भिडियो पाँच गते बिमोचन गरेपनी छ गते बेलुकीसम्म युट्युबमा आउने आयोजक तथा आशिष म्युजिकका प्रबन्धक निर्देशक रामजी पन्तले बताए  ।

प्रतिक्रिया