क्रिकेटले फर्किएका रानाको चमक

कुमार चौलागाईं , काठमाडौं । ‘खेलकुदमा विश्वलाई परिवर्तन गर्ने शक्ति हुन्छ, यसमा मानिसलाई उत्प्रेरित गर्ने शक्ति हुन्छ, खेलकुदले मानिसलाई यसरी एकताबद्ध गर्छ कि जुन कुरा अन्यबाट कम सम्भावना छ, जहाँ विगतमा निराशा मात्र थियो । त्यहाँ खेलकुदले आशा जगाउनसक्छ । नेल्सन मण्डेलाको यो भनाइ दृष्टिविहीन ओलम्पियन एवं कीर्तिमानी खेलाडी विक्रमबहादुर रानाको जीवनसँग मेल खाएको छ ।

नेपाली सेनाका सहायक सेनानी एवं पाराओलम्पियन बैतडीका विक्रमबहादुर रानाको जन्मदा स्वस्थ जीवन एउटा दुर्घटनाले शारीरिक अशक्तता बनायो । ०५६ सालमा नेपाली सेनामा भर्ती भएपछि सशस्त्र द्वन्द्वका वेलामा भदौ २६ ०६० सालमा तत्कालीन माओवादी विद्रोहीले थापेको एम्बुसमा परी उनका दुवै आँखाका ज्योति गुमेका थिए । आफ्नो हेर्न शक्ति खोसिएपछि विरक्तिएका रानाको अथक मेहनत र परिश्रमले अहिले उनलाई दृष्टिविहीन क्रिकेटका वादशाहका रूपमा स्थापित गराएको छ ।

अफिस र निवास आउने जाने क्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष दरबहादुर लिम्बूसँग भेट भएपछि रानाको जीवन नै परिवर्तन भयो । लिम्बूले रानालाई पनि खेलकुदमा आउन प्रेरणा दिएपछि परिवारको सहयोगमा उनी खेल क्षेत्रमा सक्रिय भएका हुन् ।

त्यतिवेला आफ्नो परिवारले भनेको कुरा सम्झँदै रानाले भने, ‘घटना भइसकेपछि दुःख मानेर बस्ने कुरा हुन्न, तिमी जस्तै अरू पनि धेरै छन्, तिमीले आफ्नो नयाँ पाइलाअघि बढाउनुपर्छ, यसो भनिरहँदा आमा आफै रुनु हुँदोरहेछ तर मैले देख्दैनथेँ ।’ परिवार, नेत्रहीन संघ र कार्यरत युद्ध भैरव गण, त्यहाँका साथी र नेपाली सेनाकै सहयोगले आज आफू यो स्थानमा पुगेको रानाको भनाइ छ ।

आफ्नो पहिलो खेल अनुभवबारे रानाले भने, ‘नेत्रहीनको पनि क्रिकेट हुन्छ, भनेर थाहा पाएपछि भक्तपुरस्थित दृष्टिविहीन पढ्ने सानोठिमी क्याम्पसमा पुगियो । त्यहाँका साथीसँगको सल्लाहमा पाकिस्तानबाट दुइजना नेत्रहीन क्रिकेटरलाई यहाँ बोलाएर हामीले खेल्न सुरु गरेका हौँ ।’

पहिलो दिनको खेल सम्झंदै रानाले भने, ‘पहिलोपटक बल र ब्याट छुँदा अनौठो अनुभव गरेँ, कुण्ठित भएर बस्नुपर्ने अवस्थाको अन्त्य भयो । सन् २०१२ मा विश्वकप र पारा ओलम्पिक खेल्ने मौका पाएँ, आँखा गुमे पनि भाग्य रहेछ भन्ने लाग्यो ।’ संघर्ष नै जीवन हो, भन्ने भावनाबाट प्रेरित राना आँखाको ज्योति गुमे पनि जीवनको ज्योति चम्काउन सफल कीर्तिमानी खेलाडी बने ।

नेत्रहीन क्रिकेटको पहिलो राष्ट्रिय प्रतियोगितामा पहिलो चौका हान्ने खेलाडीको रूपमा रानाले आफ्नो नाम लेखाएका छन् । ०६४ सालदेखि निरन्तर तीन वर्षसम्म वर्षको उत्कृष्ट राष्ट्रिय खेलाडीको रेकर्ड पनि रानाले नै कायम गरे । ०६४ मा पाकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ‘म्यान अफ दी सिरिज’, ‘म्यान अफ द म्याच’ घोषित राना एथलेटिक्सका पनि राम्रा खेलाडी हुन् । एसियान गेम्समा राम्रो प्रदर्शनले गर्दा सन् २०१२ लन्डन पाराओलम्पिकसम्म पुगेका उनले दृष्टिविहीनको तीनवटा विश्वकप खेलेपछि भने सन्न्यास लिए ।

उत्कृष्ट खेल प्रदर्शन गरेबापत उनले पारा एथलेटिक्स अवार्डसहित अन्य विविध संघ संस्थाद्वारा पुरस्कृत भइसकेका छन् । नेपाल, चीन, पाकिस्तान र बेलायतलगायतका देशमा अब्बल क्रिकेट खेलाडीको छवि बनाएका रानाको संघर्ष जीवन सराहनीय छ ।

प्रतिक्रिया