‘ए’ डिभिजन फुटबल लिगः थ्रिस्टार र मनाङ मस्र्याङ्दी भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारदेखि तेस्रो चरणको खेल सुरु हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ मस्र्याङ्दी र थ्रिस्टार क्लबबीच हुनेछ । तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको विश्रामपछि पुनः १० गतेदेखि चौथो चरणका खेल सुरु हुनेछन् ।

दोस्रो चरणका खेल सकिँदासम्म शत प्रतिशत नतिजा निकाल्दै थ्री स्टार शीर्ष स्थानमा छ, भने मनाङ दोस्रो तथा संकटा क्लब अंक तालिकाको तेस्रो स्थानमा छ । तिनै टोलीको समान ६ अंक भए पनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ । विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ तथा हिमालयन शेर्पा एक जित र एक बराबरीको नतिजापछि समान चार÷चार अंकका साथ लिग तालिकाको क्रमशः चौथो, पाँचाँै, छैटौँ र सातौँ स्थानमा छन् ।

दुबै खेल बराबरी खेल्दै दुई अंक जोडेको मच्छिद्र क्लब अंक तालिकाको आठौँ स्थानमा छ भने एक हार तथा एक बराबरी खेल खेलेको च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी) तालिकाको क्रमशः नवौँ र १० औँ स्थानमा छ । फ्रेन्डस, सरस्वती, जावलाखेल र ब्रिगेड ब्बाइज दुवै खेल गुमाउँदै अंकविहीन बनेको छ । उनीहरू तालिकाको क्रमशः ११औँ, १२औँ, १३औँ र १४औँ स्थानमा छन् ।
लिगमा विभिन्न १४ टोली सहभागी छन् ।

राउन्ड रोबिन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कुल ९१ खेल हुनेछन् । लिगको विजेताले ५० लाख रुपैयाँ तथा उपविजेताले ३५ लाख रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ, चौथो टोलीले १५ लाख रुपैयाँ, पाँचौँ टोलीले सात लाख रुपैयाँ र छैटौँले पाँच लाख रुपैयाँ पाउनेछन् ।

फेयर प्ले टोलीले एक लाख रुपैयाँ पाउनेछन् । प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई ५० हजार रुपैयाँ तथा म्यान अफ द म्याच घोषित खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया