धान काट्दै विदेशी कामदार

झापा । जिल्लाका किसानलाई यतिवेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश खेतमा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् । विहारको कटिहार, किसनगञ्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दालगायत स्थानका भारतीय श्रमिकहरू डेरा लिएरै धान काट्न बसेका छन् ।

मेचीनगर क्षेत्रमा मात्रै करिब सय जना भारतीय श्रमिक धान काटिरहेका छन् । भारत कटिहारका मोहम्मद खानले नेपालमा ठेक्का लिएर धान काट्ने गरेको बताए । मेचीनगरको जोरसिमल आसपासमा काम गरिरहेका उनले धान काटेबापत प्रतिबिघा १० हजार रुपैयाँ लिने गरेको सुनाए ।

धान काट्ने, उठाउने, कुन्युँ लगाउने, थ्रेसर लगाउनेसम्म गर्दा ५० हजार जति ज्याला लिने गरेको जनाए । ‘अहिले हामी धान काट्ने काम मात्रै गर्दै आएका छौँ,’ उनले भने ।

नेपाली युवा तथा श्रमिक वर्ग विदेश जाने क्रम बढेसँगै कृषिमा श्रमिक अभाव खडकिन थालेको छ । स्थानीय दामोदर ढुंगेलले नेपाली श्रमिक विदेश जान थालेपछि भारतीय श्रमिक भित्रिएको बताए ।

तर, भारतीय खेतालाको आगमनले आफूहरू मारमा परेको स्थानीय श्रमिकको भनाइ छ । भारतीय आउन थालेपछि आप्mनो भाग खोसिएजस्तो भएको कर्ण राजवंशीले बताए । उनले भने, ‘हामीले भारतीयलाई रोक्ने प्रयत्न ग¥यौँ तर सकेनौं ।’

भारतीय श्रमिकलाई स्थानीय श्रमिकको दाँजोमा धेरै ज्याला दिने गरिएको गुनासो प्रसाद मेचेले गरे । उनले भने, ‘भारतीयलाई जति हामीलाई विश्वास गरिँदैन ।’ स्थानीय श्रमिकका अनुसार भारतीयले धान काटेर मात्रै करोडौं रुपैयाँ लैजाने गरेका छन् ।

कृषि प्राविधिक शालिग्राम भट्टराईले नेपाली श्रमिक विदेशिएका कारण भारतीयलाई निम्त्याएर काम लगाउनु परेको बताए । उनले भने, ‘देशमा काम गर्ने मान्छे अर्कैको देशमा काम गरिरहेका छन्, अनि हाम्रामा अर्कै देशका मान्छे आएर काम गरिरहेका छन् ।’ झापामा यो वर्ष करिब ८८ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान लगाइएको छ ।

प्रतिक्रिया