फोहोरले बजार दुर्गन्धित हुँदै

वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–३ लिपनीमालमा रहेको परवानीपुर बजार नियमित रूपमा सरसफाइ नहुँदा समस्या हुन थालेको व्यापारीहरूले गुनासो गरेका छन् ।

गाउँपालिका कार्यालयले सरसफाई नगरी बजारबाट मात्र रकम असुल्दै आएको व्यापारीहरूको आरोप छ । बजारबाट निस्केको फोहोर एकठाउँमा व्यापारीहरूले जम्मा गर्दे आएका छन् । बजारबाट निस्केको फोहोरलाई कर्मचारीले नियमित रूपमा नउठाई दिदाँ समस्या हुन थालेको तरकारी व्यापारी श्रीराम साहले गुनासो गरे ।

उनले भने, ‘बजार सरसफाइ गर्नका लागि गाउँपालिकाले कर्मचारी राखेका छ । तर, सरसफाइ गर्ने कर्मचारी आलटाल गरी नउठाई दिँदा समस्या हुन थालेको हो ।’ बजारबाट निस्केको फोहोर नियमित रूपमा नउठाउँदा बजार कुरुप हुनुका साथै दुर्गन्ध पैmलिन थालेको बगहीका राजेश पंडितले गुनासो गरे । पंडितले भने, ‘बजारबाट सधैँ फोहोर निस्किन्छ तर समयअनुसार फोहोर नउठाउँदा कुरुपका साथै दुर्गन्धित भएको छ ।’

परवानीपुर बजारको फोहोर उठाउनका लागि ठेलाको अभाव भएकोले नियमित रूपमा फोहोर उठाउन नसकिएको कर्मचारी जोगी मलिले बताए । उनले भने, ‘गाउँपालिका कार्यालयले बजारको सरसफाइ गर्नेे सामग्री उपलब्ध गराउँदैन अनि कसरी उठाउने ।’

बारा र पर्साको मध्य भागमा पर्ने परवानीपुर बजारमा बाराको ताजपुर, रामपुर टोकनी, मुसहरी, बुनियाद, बेहरा, बलुवा, गौनहरी, रहरीयाडिह पर्साका बगही, चोर्नी, बगही, लालपर्सा प्रशोतिपुर, बेलवा, पटेलनगर, सुखचैना, जगरनाथपुर लगायतका गरी ३० गाँउका मानिस किनमेलका लागि आउने गर्दछन् ।

यस विषयमा परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साहले भने गाउँपालिका कार्यालय बजार सरसफाइ गर्नेका लागि कर्मचारी राखेको छ । तर, फोहोर उठाउने ठेला बिग्रेकाले फोहोर उठाउन नसकेको प्रतिक्रिया दिए । साहले भने, ‘फोहोर ठेलालाई मर्मत गरी नियमित रूपमा उठाउन लगाउने बताए । परवानीपुर बजारको फोहोर उठाउनका लागि दुई जना कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया