नेपाली तयारी पोसाकमा शून्य भन्सार सुविधा !

काठमाडौँ । नेपाली तयारी पोसाक (रेडिमेट गार्मेन्टस)मा शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ ।

नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’ (युएसटिआर)ले कानुनी प्रक्रिया अगाडि बढाउने संकेत गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

व्यापार र लगानीको ढाँचासम्बन्धी सम्झौता (टिफा)अन्तर्गत नेपाल र अमेरिकाबीचको एकमात्र द्विपक्षीय स्थायी संयन्त्रको गत कात्तिक २७ गते सम्पन्न चौथो बैठकमा नेपालले शून्य भन्सारको सुविधा प्राप्त गर्ने ७७ वटा वस्तुको सूचीमा तयारी पोशाकलाई समावेश गर्न आग्रह गरेको थियो ।

बैठकमा भएको छलफलबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले विगतमा अमेरिकी बजारमा निकै ठूलो परिमाणमा जाने गरेको तयारी पोशाकको निर्यातमा सहयोग गर्न प्रस्ताव गरिएको जानकारी दिए ।

उनले भने, ‘हाम्रो प्रस्तावलाई अमेरिकाले सकारात्मक रुपमा लिएको छ । युएसटिआरले कङ्ग्रेसलाई पेश गर्ने प्रतिवेदनमा नेपाली रेडिमेड गार्मेन्टस्लाई शून्य भन्सार सुविधा उपलब्ध गराउने विषय उल्लेख गरेर पठाउने समझदारी भएको छ ।’ अमेरिकीमा कुनै पनि वस्तुमा सहुलियत दिनुपर्ने खण्डमा कानुनमार्फत दिनुपर्ने प्रावधान छ । अमेरिकी कानुनको मस्यौदा र अनुमोदन कङ्ग्रेसभित्रबाट मात्रै हुन्छ ।

नेपालमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिका लागि अमेरिकी लगानीको उचित वातावरण बनेको विषयलाई बैठकका क्रममा उठाइएको जानकारी दिँदै सचिव घिमिरेले नेपालमा लगानी बढाउने विषयमा अमेरिकाले चासो व्यक्त गरेको बताए । उनले व्यापार सहजीकरण सम्झौताको कार्यान्वयन, कृषि क्षेत्रको व्यावसायिकीकरण, बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार र ‘डिजिटल ट्रेड’सँग सम्बन्धित भएकाले अमेरिकाको चासो रहेको बताए ।

उनले भने,‘नेपालमा लगानी गर्ने सन्दर्भमा अमेरिकाले नीतिगत सुधारको पक्षमा जोड दिएको छ । हामीले नीतिगत सुधार गरी बढीभन्दा बढी विदेशी लगानी भित्र्याउनु वर्तमान सरकारको मुख्य कार्यसूची भएको जानकारी गरायौँ, ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा तय गरेको सरकार नीतिगत सुधारमा केन्द्रित भएको र अन्तर्राष्ट्रिय समुदायसँग निकटमा रहेर काम गर्ने बतायौँ ।’

नेपालले शून्य भन्सार दरको सुविधालाई उपयोग गर्दै अमेरिकासँग वार्षिक रुमपा करीब ७९ मिलियन अमेरिकी डलर आर्थात रु नौ अर्बभन्दा बढीको व्यापारिक कारोबार गर्दै आएको जानकारी दिँदै सचिव घिमिरेले नेपालको कूल निर्यातको धेरै अंश शून्य भन्सार दरमा आधारित रहेको बताए ।

शून्य भन्सार सुविधाबाट अधिकतम लाभ हासिल गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा विज्ञ र सरोकारवालाको सहभागितामा राष्ट्रिय कार्ययोजना तयार गरिरहेको जानकारी दिँदै घिमिरेले अमेरिकाले व्यक्त गरेका चासो सम्बोधन हुने गरी जतिसक्दो चाँडो कार्ययोजना तर्जुमा गरिने बताए ।

नेपाली वस्तुको निर्यात गर्ने देशको सूचीमा अमेरिका हाल शीर्ष पाँच मुलुकभित्र रहँदै आएको छ । भारत, चीन, अमेरिका, युरोपका केही देशमा नेपाली वस्तुको निर्यात उच्च मात्रामा रहने गरेको छ ।

फेल्ट (ऊनबाट बनेका वस्तु), कटन ज्याकेट, बोरा, चिज, चाँदीका गहना, ट्रेकिङ तथा ट्राभल्ससँग सम्बन्धित सामग्री, झोला, टोपी, लौरीलगायत वस्तु बढी निर्यात भइरहेका छन । सन् २०१७ मा ८२ मिलियन डलर अर्थात करीब साढे नौ अर्ब बराबरको नेपाली वस्तु अमेरिका निर्यात भएको थियो ।

प्रतिक्रिया