प्रथम रोनाल्ड म्याकुलिप क्रिकेट प्रतियोगिता हुने

विराटनगर । नेत्रहीन खेलाडीहरूको क्षमता विकास एंव आत्मबल बढाउने उद्देश्यले विराटनगरमा प्रथम रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता २०१८ हुने भएको छ । नेत्रहीन क्रिकेटसंघ नेपालको आयोजनामा मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता हुन लागेको हो । क्रिकेटसंघले विराटनगरमा आज पत्रकार सम्मेलनगरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा म्याग्दी, झापा र बर्दिया जिल्लाका तथा त्रिभुवन आर्मी क्लब द्वन्द्व पीडित घाइते सैनिक गरी चार टिमको सहभागिता रहनेछ । टिममा ११÷११ जना खेलाडी रहनेछन् ।

विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा प्रथम हुनेलाई २० हजार तथा द्वितीय हुनेलाई १० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न ७५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ । ६० जना खेलाडीले भाग लिने प्रतियोतिामा वि–वन, वि–टुको आधारमा खेलाइनेछ । उद्घाटनको पहिलो खेल झापा भर्सेस बर्दियाबीच हुनेछ ।
नेपालमा ०६३ सालमा नेत्रहीन क्रिकेटसंघ स्थापना भएको हो ।

१ सय १० जना नेत्रहीन खेलाडीलाई आधारभूत तालिम प्रदान गरिएको छ । नेपालमा ५ सय नेत्रहीन क्रिकेट खेलाडीमध्ये २ सय महिला खेलाडी रहेका छन् । नेत्रहीन क्रिकेटसंघ, विराटनगर महानगरपालिका तथा स्थानीय समुदायको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

दृष्टिविहीनहरूले पनि राम्रो खेल्न सक्छन् र उनीहरू पनि मुलुकका लागि केही गर्न सक्छन् भन्ने देखाउन पहिलोपटक विराटनगरमा प्रतियोगिताको आयोजना गर्न लागिएको संघका अध्यक्ष पवन घिमिरेले बताए । उनका अनुसार नेपालका नेत्रहीन क्रिकेट खेलाडीले बंगलादेश, न्युजिल्यान्ड तथा साउथ अफ्रिकालाई हराइसकेको छ ।

यही डिसेम्बर २६ मा पाकिस्तानमा हुन लागेको अन्तर्राष्ट्रिय महिला क्रिकेट प्रतियोगितालाई समेत यस टुर्नामेन्टले बल पुग्ने अध्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया