अफगान–तालिवान वार्ता कतारमा

इस्लामावाद । अफगान तालिवानसँग अमेरिकी विशेष दूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गरेको तालिवानी अधिकारीले बताएका छन् । अफगान तालिवानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् ।

कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारसँग भने, ‘मैले वार्तामा बस्न चाहने सबै अफगानी समूहसँग छलफल गरिरहेको छु, र मेरो विचारमा अहिले मेलमिलाप र शान्तिको अवसर आएको छ ।’

‘अफगान सरकारले पनि शान्ति चाहेको छ,’ उनले भने । ‘तालिवानीले भनिरहेका छन्, उनीहरूको विश्वासमा सैनिक ताकतका भरमा सफल हुन सकिँदैन । शान्तिपूर्ण, राजनीतिक मेलमिलापका आधारमा अफगानिस्तानको समस्या समाधान गर्नु पर्दछ भन्ने उनीहरूको भनाइ छ ।’

वासिंगटनको शान्तिदूतका रूपमा खलिलजादको नियुक्ति भएसँगै शान्ति प्रक्रियाका विषयमा तीव्रता आएको छ । शान्ति स्थापनासँगै अफगानिस्तानमा अमेरिकी सैनिक उपस्थिति अन्त्य पार्ने खलिलजादको मुख्य जिम्मेवारी हो ।

अमेरिकी नेतृत्वको फौजले तालिवान सत्ता अपदस्थ गरेको १७ वर्ष पूरा भइसकेको छ, तर अहिले अफगानिस्तानको झण्डै आधा भाग तालिवान विद्रोहीको नियन्त्रणमा छ । तालिवानले गरेका स्थानीय सुरक्षा फौज र सरकारी अधिकारीमाथिको आक्रमणका कारण दिनहुँ ठूलो संख्यामा हताहत भइरहेको छ ।

अमेरिकी प्रशासनले तालिवानसँग राजनीतिक समाधानका लागि हाल प्रयत्न गरेको देखिएको छ, र उक्त समूहले लामो समयदेखि राखेका केही माग पूरा गरिदिएको छ । अहिले अमेरिका र तालिवानबीच प्रत्यक्ष वार्ताको ढोका खुलेको छ । अमेरिकाले अनुरोध गरे पनि तालिवान विद्रोहीले पश्चिमा मुलुकको आडमा बनेको ‘कठपुतली’ काबुल सरकारसँग वार्ता गर्न अस्वीकार गरिआएको छ ।

यहीबीच पाकिस्तानले पनि तालिवानका सहसंस्थापक मुल्लाह अब्दुल घानी बरादरसमेतका केही उच्च तालिवानी नेतालाई कारागारमुक्त गरेको छ । यो पाकिस्तानी कदम अमेरिकी अनुरोधमा भएको विश्वास गरिएको छ ।

खलिलजाले पछिल्ला वार्ताले आफू आशावादी भएको बताए । ‘अफगानिस्तानको भविष्यको मार्गचित्र’ भनिएको शान्ति प्रयासले अफगानिस्तानका परस्पर विरोधी समूहलाई एकै ठाउँमा ल्याउने खलिलजादले विश्वास व्यक्त गरे । मार्गचित्रको स्वरूप कस्तो हुन्छ र महिला अधिकार तथा कानुनको शासन समेतका अधिकारको प्रत्याभूति कसरी हुनेछ भन्ने कुरा अफगानीले नै निर्णय गर्ने कुरा हो, खलिलजादले भने ।

संयुक्तराज्य अमेरिकाले पुरुष र महिलाको समान अधिकारका लागि स्पष्टरूपमा आवाज उठाइआएको छ, खलिलजादले भने, ‘यी अधिकार मार्गचित्रमा कसरी राख्ने भन्ने कुरा अफगानी जनताको कुरा हो ।’ उनले अमेरिकाले जतिसक्दो चाँडो अफगान युद्ध अन्त्य भएको चाहन्छ भने । विशेषदूत खलिलजादले आगामी वर्षको अप्रिल २० तारिखका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन अघि नै सहमतिमा हस्ताक्षर गर्न सकिए राम्रो हुने स्पष्ट गरे ।

यसै महिनाको सुरुमा जारी गरिएको लामो वक्तव्यमा तालिवानले आफ्नो समूहका नेतामाथि लागेका प्रतिबन्ध फुकुवा गर्न, थुनामा रहेका आफ्ना नेता तथा कार्यकर्ता मुक्त गर्न तथा कतारमा रहेको आफ्नो कार्यालयलाई मान्यता दिन माग गरिएको थियो । अफगान सरकारले भने कतारमा कार्यालय खोल्ने बारेमा असहमति जनाएको छ । तालिबानले विगतमा यो कार्यालयलाई अफगानिस्तानको निर्वासित सरकारको रूपमा घोषणा गरेका थिए ।

अमेरिकी विशेषदूत खलिलजादले पछिल्ला दिनमा क्षेत्रको भ्रमण गरिरहनुभएको छ । काबुलमा आयोजित बैठकमा खलिलजादले अफगान राष्ट्रपति अस्राफ घानीलाई वार्ताका नतिजालाई स्वीकार गर्नेतर्फ दबाब दिने विश्वास गरिएको छ । यो वार्ताप्रति अफगान सरकारभित्रै मतभिन्नता रहिआएको छ ।

प्रतिक्रिया