खसोग्गी हत्याकोे टेप सुन्ने नसक्नेः ट्रम्प

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी पत्रकार जमाल खसोग्गीको हत्याको श्रव्य टेपबारे आफूलाई सबै जानकारी प्राप्त भएको बताएका छन् ।

तर, उनले त्यो अडियो टेप आफूले नसुन्ने बताएका छन् । उनको भनाइमा त्यो श्रव्य सामग्री निकै ‘पीडादायी र हिंसात्मक’ छ । साउदी पत्रकारको हत्याको विषयमा अमेरिकी अनुसन्धान चलिरहेको बारेका विवरणहरू बाहिर आइरहेका छन् ।

उनले भने, ‘त्यो टेप पीडादायी छ, के सुन्ने ? सुन्नेले सबै सुनिसके र मलाई भनिसके । एकदमै हिंसात्मक छ ।’ अमेरिकी गुप्तचर निकाय सिआइएको निष्कर्षमा पत्रकार खसोग्गीको हत्या गर्ने निर्देशन साउदी युवराज मोहम्मद बिन सलमान आफैँले दिएका थिए भन्ने विवरण बाहिर आइसकेका छन् ।

तर, ट्रम्पले ती विवरणहरू अपुष्ट भएको बताउँदै उनी आफ्नो आफ्नो देशको एक प्रमुख मित्रशक्ति साउदी अरेबियालाई गुमाउने पक्षमा नरहेको बताएका छन् । साउदी अरेबियाले चाहिँ खसोग्गीको हत्यामा आफ्ना युवराजको कुनै भूमिका नरहेको बताउँदै आएको छ ।

साउदी अरेबिया सरकारका कटु आलोचक रहेका खसोग्गीको गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो । उनी एक चर्चित पत्रकार थिए, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे ।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे । तर, पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए ।

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वासिंगटन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे ।

आफ्नो पहिलो स्तम्भमा खसोग्गीले विरोधी स्वरमाथि दमन गर्न लागेका युवराज मोहम्मदले गिरफ्तार गराउन सक्ने आशंका व्यक्त गरेका थिए । वेपत्ता हुनु तीन दिनघि बिबिसीको न्युज आवर कार्यक्रममा उनले भनेका थिए, ‘विरोधी हुँदैमा मानिसहरू गिरफ्तार भइरहेका छैनन्, स्वतन्त्र विचार राख्नेहरू पनि गिरफ्तार गरिँदैछन् ।’

प्रतिक्रिया