खोजखबर

बालिकाको शव उठेन, राजमार्ग ठप्प

सौर्य अनलाइन २०७५ मंसिर ४ गते ७:०३ मा प्रकाशित

बर्दिया । महेन्द्र राजमार्गमा पर्ने बर्दियाको भुरिगाउँ नजिक सोमबार बिहान बसको ठक्करबाट एक बालिकाको ज्यान गएपछि राजमार्गमा यातायात ठप्प भएको छ ।

कालिकोटबाट कैलालीको टिकापुरतर्फ गइरहेको ना४ख ५३७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका–६ बकुवाकी १४ वर्षीया बालिका निर्मला चौधरीको घटनास्थलमै ज्यान गएको हो । ज्यान गुमाएकी बालिका भुरिगाउँको भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

ठक्कर दिने बसको समितिले चासो दिएको छैन । समितिका प्रतिनिधि नआउन्जेलसम्म शव उठाउन नदिने र राजमार्गमा गाडी चल्न नदिने पीडितका आफन्तले जनाएका छन् ।

बालिकालाई ठक्कर दिने बसको समिति सुदूरपश्चिम यातायात समितिको प्रतिनिधि नआएको भन्दै स्थानीयवासीले बिहान ७ बजेदेखि नै घटनास्थलबाट शव उठाउन दिएका छैनन् । पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरिगाउँ नजिक घटनास्थल क्याम्पस चोकमा दुवैतर्फ सयौँ गाडीहरू रोकिएका छन् । यात्रुहरू राजमार्गमै अलपत्र परेका छन् ।

मृतक बालिकाका आफन्त र स्थानीयवासीले उचित राहत र चालकलाई कडा कानुनी कार्वाहीको माग गर्दै शव उठाउन र गाडी चल्न दिएका छैनन । बालिकाका आफन्तले उचित राहत, बालिकाको नाममा विद्यालयमा अक्षय कोष बनाउने र चालकलाई कडा कानुनी कार्वाहीको माग गरेका छन् ।

सुदूर पश्चिम यातायात समितिले नटेरेको स्थानीयले गुनासो गरेका छन् । बालिकाका आफन्त, स्थानीयवासीन्दा, विद्यार्थीले घटनास्थलमै समिति र चालकविरुद्ध नाराबाजी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले यातायात समितिका प्रतिनिधिलाई झिकाएर र वार्तामा ल्याउन पहल गरिरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बसका चालक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय