तीन महिनामै साढे ३० अर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा २९ अर्ब ४८ करोड रुपैयाँको सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्यांकबमोजिम आर्थिक वर्ष ०७५-७६को पहिलो तीन महिनामा बाहिरी मुलुकबाट नेपालमा २९ अर्ब ५८ करोड ५६ लाख ५२ हजार रुपैयाँको सवारी आयात भएको हो ।

विभागको विवरणअनुसार गत साउन महिनामा ७ अर्ब ९५ करोड ३१ लाख ७० हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो । साउन महिनामा मात्रै सवारी साधन आयात गर्दा नेपाललाई ७ अर्ब ९४ करोड ३४ लाख ८६ हजार व्यापार घाटा भएको छ भने, ७ अर्ब ६८ करोड ३९ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भदौ महिनामा भने १७ अर्ब ११ करोड २५ लाख १९ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ । यो महिनामासम्म नेपाललाई १७ अर्ब ९ करोड ५२ लाख ४९ हजार रुपैयाँ व्यापार घाटा भएको छ भने १६ अर्ब ६७ करोड ९७ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, असोज महिनासम्म आइपुग्दा २९ अर्ब ४८ करोड ५६ लाख ५२ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ ।

सबैभन्दा धेरै सवारी साधन आयात भएको यो महिनासम्म आइपुग्दा ३० अर्ब ७ करोड ७१ लाख ६२ हजार राजस्व संकलन भएको छ । त्यस्तै, असोज महिनासम्म आइपुग्दा नेपाललाई २९ अर्ब ४५ करोड ६९ लाख ८० हजार रुपैयाँ व्यापार घाटा भएको विभागको तथ्यांकमा देखिएको छ ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन महिनामा ५ अर्ब ७८ करोड ३६ लाख ९६ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो । भदौ महिनामा १३ अर्ब ५१ करोड ७७ लाख १० हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो भने असोज महिनामा २२ अर्ब ४७ करोड ३४ लाख ३३ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो ।

गत वर्षको पहिलो तीन महिनाको तुलनामा यो वर्षको ३ महिनामा १२ अर्ब ७७ करोड ६५ लाख ३ हजार रुपैयाँ बराबर बढीका सवारी साधन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै, गत आर्थिक वर्षमा कुल ८६ अर्ब २९ करोड ७९ लाख ५३ हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गतआर्थिक वर्ष सवारी साधन आयात ६ अर्ब ७९ करोड रुपैयाँले वृद्धि भएको हो ।

आर्थिक वर्ष ०७३-७४ सालमा कुल ७९ अर्ब ५० करोड २२ लाख १० हजार रुपैयाँ बराबरको सवारी साधन आयात भएको थियो । विशेषतः नेपालमा भारत, जापान, चीन, इन्डानेसिया, दक्षिण कोरिया, बेल्जियम, दुबई, मलेसियालगायतका देशबाट सवारी साधन आयात हुने गर्छ ।

यसैबीच, फोर्डका लागि नेपालको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्धक सुनील क्षेत्रीले भने गतवर्षको तुलनामा यो वर्ष करको दर बढेकाले पनि राजस्व बढी संकलन भएको बताए । क्षेत्री भन्छन् ‘सरकारले सवारी साधनको सिसिको आधारमा कर संकलन गर्ने नीति ल्याएको छ ।

त्यसैले, आयातीत मूल्य बढी देखिएको छ भने र राजस्व पनि बढी नै संकलन भएको छ । यद्यपि, बिक्रीदरमा भने आकर्षक वृद्धि भएको छैन ।’ उनले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा यो वर्षको तीन महिनामा केही बढी व्यापार भएको स्वीकारेका छन् ।

प्रतिक्रिया