आँधीका कारण भारतमा ३३ जनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरूले शक्तिशाली आँधीका कारण अरू पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् ।

‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघण्टा १ सय २० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो । आँधीले हजारौँ रुखहरू भाँचिएका छन् भने ठूलो संख्यामा घरहरू भत्किएका छन् । घरबारविहीन भएका हजारौँ स्थानीय बासिन्दालाई शिविरहरूमा राखिएको छ ।

मृत्यु भएका मध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी, दुई जना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । ‘घरबारविहीन भएकाहरूको संख्या १ लाख ७७ हजार ५ सय पुगेको छ । उनीहरूलाई ३ सय ५१ वटा शिविरमा राखिएको छ,’ एक अधिकारीले पत्रकारहरूसँग भने ।

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानी स्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरूले च्यापेर र विद्युतीय गढबढीका कारण भएको छ ।

प्रतिक्रिया