व्यावसायिक सिस्नो खेती: आम्दानीको स्रोत

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ साउनेका कृषकले व्यावसायिक सिस्नो खेतीबाट बर्सेनि राम्रो आर्थिक आम्दानी गर्दै आएका छन् । साउनेका कृष्णमाया मगरले यसपटक पनि सिस्नो बिक्रीको समय सुरु भएका कारण आफूले उत्पादन गरेको सिस्नो बिक्री गर्ने तयारी गरेको बताए ।

घर वरपरको पाखा र बारीको कान्लामा व्यावसायिक सिस्नो खेती गर्दै आएका उनले दसैं र तिहारको बीचमा झण्डै १० हजारको सिस्नो बिक्री गरेको बताए । यसपटक उनले मंसिरदेखि माघ महिनासम्ममा ५० हजारभन्दा माथिको सिस्नो बिक्री गर्ने लक्ष्य राखेका छन् ।

साउनेको गैह्राटोलमा केही वर्षयता कृषकले व्यावसायिक सिस्नो खेती नै गर्दै आएको हर्कबहादुर मगरले बताए । सिस्नो जिल्ला सदरमुकाम गाईघाट बजारका होटल तथा घरमा माग हुने गरेकाले बजारको समस्या नरहेको उनको भनाइ छ ।

प्रत्येक हप्ताको बुधबार र शनिबार आफूहरूले सिस्नो गाईघाट बजार पु¥याउने गरेको र प्रतिकिलो ४० देखि ६० रुपैयाँ मूल्यसम्ममा बिक्री हुने गरेको कृषक जीतबहादुर मगरले जानकारी दिए । यहाँका बासिन्दाले वार्षिक २० देखि पचास हजारभन्दा माथिसम्मको सिस्नो बिक्री गर्ने गरेका छन् । सदरमुकामस्थित मेलिना होटलका सञ्चालक गंगा राई बर्सेनि ५ हजारभन्दा बढीको सिस्नो आफूले खरिद गरेर खाने गरेको बताए ।

प्रतिक्रिया