इँटाभट्टा सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ । यसअघि, चालू आर्थिक वर्षका लागि कार्यालयले नगरपालिका क्षेत्रभित्र अव्यवस्थित इँटा उद्योगको नवीकरणमा समेत रोक लगाएको थियो ।

कार्यालयले सूचना जारी गर्दै सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमिन उपलब्ध नगराउन अनुरोध गरेको छ । स्थानीयवासीले केही वर्षदेखि इँटा उद्योगका लागि आफ्नो जमिन भाडामा दिँदै आएका थिए । नगरप्रमुख टंकप्रसाद शर्माले इँटा उद्योगको गत आर्थिक वर्षको कर मात्र लिएको र चालू आर्थिक वर्षको दर्ता-नवीकरण रोकिएको बताए । उनले भने, ‘अब इँटाभट्टा चल्न दिन्नँ ।’

नमोबुद्ध नगरपालिकाका ३१ संघसंस्थाले भकुण्डेमा रहेका इँटा उद्योग सञ्चालनमा रोक लगाउन कार्यालयमा निवेदन दिएका थिए । जिल्लामा सञ्चालित २० इँटा उद्योगमध्ये नमोबुद्धको भकुण्डेमा आठ इँटा उद्योग छन् । गत वैशाखमा वातावरण विभाग र नमोबुद्ध नगरपालिकाको संयुक्त अध्ययन, अनुगमन टोलीले भकुण्डेमा सञ्चालित इँटा उद्योग मापदण्डविपरीत भएको निष्कर्ष निकालेको थियो ।

टोलीले इँटा उद्योगबाट निस्कने धुँवा–धुलोका कारण मानव, घरपालुवा जनावर, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा असर परेको जनाएको थियो । ‘अनुगमनपछि इँटा उद्योग दर्ता तथा नवीकरणमा रोक लगाउने निणय गर्यौँ,’ उनले भने ।

यस्तै, पाँचखाल नगरपालिकाले समेत इँटा व्यवसायीलाई मापदण्डअनुरूप सञ्चालन गरिएको वातावरणमैत्री प्रमाण पेस गर्न आह्वान गरेको छ । नगरउपप्रमुख लक्ष्मी दनुवारले भनिन्, ‘इँटा व्यवसायीलाई पटकपटक प्रमाण पेस गर्न भनेका छौँ, उहाँहरूले अटेर गरिरहनुभएको छ, एक महिनाभित्र प्रमाण पेस गर्न भनेका छौँ ।’ इँटा उद्योग संघका जिल्ला अध्यक्ष जितेन्द्र खयमलीले उद्योगलाई वातावरणमैत्री बनाउनेबारे छलफल भइरहेको बताए ।

औद्योगिक क्षेत्र सञ्चालन ऐन २०५९ अनुसार इँटा उद्योग मानवबस्ती, विद्यालय र वन क्षेत्रभन्दा ५०० मिटर टाढा सञ्चालन गर्न पाइने प्रावधान छ । उद्योग मन्त्रालयको कार्यविधि २०७२ अनुसार बस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्नेछ । जिल्लाको पाँचखाल नगरपालिकामा सात, नमोबुद्धको भकुण्डेमा आठ, पनौतीको शंखुमा एक, बनेपामा एक, मण्डनदेउपुरमा दुई र धुलिखेलमा एउटा इँटा उद्योग रहेको छ ।

प्रतिक्रिया