१७ करोडमा पनौती पुग्ने सडक कालोपत्रे हुँदै

ललितपुर । महालक्ष्मी नगरपालिकाअन्तर्गत कृष्ण मन्दिर हुँदै वृद्ध पाटी प्यालेस नजिकैको गोलभट्टा सम्मको १५ सय मिटर सडक कालोपत्रे हुने भएको छ । केन्द्र सरकारले १७ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि उक्त सडक कालोपत्रे गर्न लागिएको हो ।

सो सडकबाट काभ्रेको पनौती पुग्न निक्कै कम पर्ने गरेको छ । ‘लुभु–लामाटार हुँदै पनौती पुग्न कोटेश्वरभन्दा १० किलोमिटर छोटो बाटो पर्छ,’ महालक्ष्मी नगरपालिकाकी उप–प्रमुख निर्मला थापाले बताईन् । ‘हाल लुभु–लामाटार हुदै पनौति पुग्ने बाटोको शुरुवाती १५ सय मिटर सडक मात्र कालोपत्रे गर्दै छाँै,’ उनले भनिन्, ‘विभिन्न चरणमा नगरपालिकाले लुभु–लामाटार हुदै पनौति पुग्ने सडक कालोपत्रे गर्ने योजना अघि बढाएको छ । ’

महालक्ष्मीभित्र रहेका सडक कालोपत्रे गर्न नगरपालिकासँग पर्याप्त बजेट नभएको पनि नगरपालिकाले जनाएको छ । पुष मसान्त भित्रमा लुभु–लामाटार हुँदै पनौती पुग्ने सडक कालोपत्रे सम्पन्न गर्ने तयारी रहेको छ । लुभु–लामाटार हुँदै हाल निर्माणधीन कालोपत्रे पनौती पुग्ने सडकको चौडाइ ४ लेनको हुनेछ ।

केन्द्र सरकारले ४ लेनको सडकलाई बजेट उपलब्ध नगराउने निर्णय गरे तापनि नगरपालिकाको विशेष पहलमा लुभु–लामाटार हुँदै पनौती पुग्ने सडकको केही भागमा कालोपत्रे गर्दै छाँै, महालक्ष्मी नगरपालिकाका वातावरण इन्जिनियर हितेश पन्तले जानकारी दिए ।

लुभु–लामाटार हुँदै पनौती पुग्ने महालक्ष्मी नगरपालिकाभित्रको यो वैकल्पिक सडक हो । पहिलो चरणमा कृष्णमन्दिर हुँदै गोलभट्टा, दोस्रो चरणमा कृष्णमन्दिर हुँदै गोदावरी खोला, तेस्रो चरणमा गोदावरी खोला हुँदै लाकुरी भञ्ज्याङ र चौथो चरणमा लाकुरी भञ्ज्याङ हुँदै पनौती छिचोल्ने सडक निर्माण तथा कालोपत्रे गर्ने योजनामा नगरपालिका छ ।

प्रतिक्रिया