प्रहरीको आचरण सुधार्नेछु : आइजिपी खनाल

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले संगठनभित्र खराब आचरण भएका प्रहरीलाई तत्काल कारबाही गरिने चेतावनी दिएका छन् । प्रहरी संगठनकै बदनाम गराउने लागिरहेकाले त्यस्तालाई कारबाहीको दायरामा ल्याएर छाड्ने बताएका हुन् ।

कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटन गर्दै उनले आफ्नो कार्यकालमा प्रहरी संगठन सुधार गरेरै छाड्ने प्रतिद्धतासमेत व्यक्त गरे । ‘समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म कुनै हालतमा सुधार्नेछु ।’

आइजिपी खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने बताए । समृद्ध र सुखी नेपाल निर्माण अभियान सफल पार्न स्थानीयस्तरबाट नै प्रहरीका लागि भवन हस्तान्तरण गर्नु अनुकरणीय कार्य भएको चर्चासमेत गरे । दिगो शान्तिका लागि नागरिक–प्रहरी साझेदारी अतिआवश्यक रहेकाले यसलाई संस्थागत बनाउन कार्यक्रम अघि बढाइएको प्रहरी महानिरीक्षक खनालले बताए । विकास कार्यका लागि सुरक्षा पहिलो शर्त भएको बताउँदै शान्ति सुरक्षा लगायतको जिम्मेवारी पूरा गर्न नेपाल प्रहरीले स्थानीय सरकार, विभिन्न संघसंस्था लगायत सम्पूर्णसँग हातेमालो गरी अघि बढ्ने उनले उल्लेख गरे ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्णबहादुर राईले भवन निर्माणमा सहयोग गर्ने स्थानीय प्रतिनिधिहरूलाई कदरपत्र प्रदान गर्दै समुन्नत समाज बनाउन सुरक्षा महत्वपूर्ण पाटो भएकाले स्थानीय र प्रहरी दुबैले सुरक्षाको गहन जिम्मेवारी बोध गरी अगाडि बढ्नुपर्ने बताए । प्रदेश–३ का सांसद रामेश्वर फुयाँलले प्रहरी र नागरिक दुबै मिलेर काम गरेमा शान्ति सुरक्षा स्थापनाको लागि थप सफलता मिल्ने बताए । गागलफेदीको चारकोठे अस्थायी प्रहरी बिटको उद्घाटन गर्दै खनालले प्रहरी सेवामा उत्कृष्ट कार्य गरेकामा महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनाललाई नगदसहित पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया