चिनियाँ व्यापारी गाउँगाउँमा

संखुवासभा । चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेसगै चिनियाँ व्यापारीहरू सीमा जोडिएका गाउँगाउँमा धाउन थालेका छन् । चिनियाँ व्यापारी किसानले रोपेका बोटसम्मै पुगेर नेपाली रुद्राक्ष खरिद गर्न थालेका छन् ।

चीनका विभिन्न बजारमा रुद्राक्षको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरको दिङलाका गाउँगाउँमा पुगेका छन् । अघिल्लो तीन वर्षसम्म थोरै माग हुने भएकोले चिनियाँ व्यापारी काठमाडौंसम्म मात्र आउने गर्थे तर गत वर्षदेखि ठूलो संख्यामा चिनियाँ व्यापारी गाउँगाउँमा पुगेको स्थानीयहरूले बताएका छन् ।

चिनियाँ व्यापारी गाउँस्तरसम्म आएपछि किसानले भनेजस्तै मूल्य पाउन थालेका छन् । सीधै चिनियाँ व्यापारीले घरैमा आएर रुद्राक्ष खरिद गरेपछि यहाँका किसानको आम्दानी बढेको स्थानीय व्यापारी काजी तामाङले बताए । केही वर्ष यतासम्म नेपाली व्यापारीले सानो परिणाममा रुद्राक्ष संकलन गरी काठमाडौं लगेर बिक्री गर्ने गरेका थिए ।

खाँदबारीसहित जिल्लाका केही ठूला बजारका होटल यतिवेला चिनियाँ व्यापारीले भरिएको छ । चिल्लो, ठूलो र मुखदार रुद्राक्ष चिनियाँ व्यापारीले रुचाउने गरेका छन् । बढी पाइने पाँचमुखे कण्ठे (२१ एमएमभन्दा माथि) रुद्राक्षको मूल्य र थेप्चे भएमा प्रतिकिलो १० हजारदेखि २० हजार सम्ममा खरिद गर्ने गरेका छन् ।

पछिल्लो वर्षदेखि चिनियाँ व्यापारी यहाँ भित्रिएपछि रुद्राक्ष बिक्रीसँगै यहाको होटेल र अन्य व्यवसाय बैंकिङ कारोबार फस्टाएको व्यापारीहरू बताउँछन् । निजी र सरकारी गरी १३ वटा बैंकले दैनिक एक करोड बढी नगद कारोबार गर्ने गरेका छन् । चीनमा सजावट र शृंगारिक गहनाका रूपमा रुद्राक्ष प्रयोग गर्ने गरेको बताइन्छ । व्यापारीले किसानसँगै मोलमोलाई गर्ने गरेका छन् ।

धेरै मुख धेरै मूल्य

किसानका अनुसार मुख अनुसारका रुद्राक्षको किनबेच हुने गरेको छ । जति धेरै मुख त्यति नै मूल्य तोकिने भएकाले मुखका आधारमा रुद्राक्षको किनबेच हुने गरेको व्यापारी तथा कृषकहरूले बताएका छन् । नेपालका शिक्षाका ज्योतिका रूपमा परिचित बालागुरु षडानन्दले भारतबाट वृक्ष ल्याई भोजपुरको दिङलामा रुद्राक्ष रोपेको र त्यसैबाट रुद्राक्ष फैलिएको विश्वास छ । भोजपुरको उत्तरी साबिक १० भन्दा बढी गाविसका किसानहरूको मुख्य आम्दानीको स्रोत रुद्राक्ष हो ।

विशेषगरी रुद्राक्षको मुख, तौल र आकार हेरेर किनबेच हुने गरेको छ । मुख र आकारले रुद्राक्षको मूल्य निर्धारण गर्ने हुँदा यसको मूल्य मुख र आकारका आधारमा कम र बढी हुने गरेको व्यापारीको भनाइ छ । सामान्य यस वर्ष दुई मुखेलाई पाँचदेखि सात हजार, तीन मुखेलाई दुई सयदेखि चार सयसम्म, सात मुखेलाई एक सयदेखि पाँच सयमा किनबेच हुने गरेको छ ।

यसैगरी, आठ मुखेलाई एक हजारदेखि १५ सय, नौ, १०, ११ मुखेलाई एक हजारदेखि पाँच हजारसम्म, १२ मुखेलाई दुई हजारदेखि चार हजारसम्म १३ मुखेलाई पाँच हजारदेखि १० हजार, १४ मुखेलाई १५ हजारदेखि ३० हजारसम्ममा बिक्री भएको व्यापारी तथा कृषकले बताएका छन् ।

त्यस्तै १५ मुखेलाई १० देखि २० हजारसम्म, १६ मुखेलाई ३० हजारदेखि ७० हजारसम्म, १७ मुखेलाई ५० हजारदेखि १ लाख ५० हजारसम्म, १८ लाई एक लाखदेखि तीन लाखसम्म, १९ मुखेलाई चार लाखदेखि नौ लाखसम्म, २० मुखेलाई सात देखि १५ लाख र २१ भन्दा माथिका रुद्राक्षलाई २१ लाखदेखि ४० लाख सम्ममा खाँदबारी बजारमा कारोबार हुने गरेको छ ।

संखुवासभामा वार्षिक अर्ब रुपैयाँभन्दा बढीको रुद्राक्ष किनबेच हुने गरेको व्यवसायीहरू बताउँछन् । ‘तीन वर्षयता चार, पाँच र ६ मुखेको रुद्राक्षको माग अत्यधिक बढेको छ’, खाँदबारीका व्यापारी छत्रबहादुर कार्कीले बताए । धेरै परिश्रम, गोडमेल र मलजल गर्नु नपर्ने र बजार मूल्य पनि राम्रो भएकाले कृषकहरूले खेतीयोग्य जमिन मासेर रुद्राक्षको खेती गरेको किसानहरू बताउँछन् ।

रुद्राक्ष भोजपुरको साविक उत्तरी गाविस र संखुवासभामा अत्यधिक फल्ने गरेको छ । भोजपुरमा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको पहिलो बजार संखुवासभाको खाँदबारी र तुम्लिङटार नै हो ।

खाँदबारीमा खरिद हुने रुद्राक्ष तराईका जिल्ला, काठमाडौं, भारतमा समेत निर्यात हुने गर्दछ । यस्तै हाल चीन, युरोप र अमेरिकालगायत मुलुकहरूमा समेत रुद्राक्ष निर्यात हुने गरेको छ । तीन वर्षयता चिनियाँ व्यापारीले चार, पाँच र ६ मुखे रुद्राक्षसमेत माग गर्न थालेपछि किसानहरू थप उत्साहित देखिन्छन् । रुद्राक्ष कारोबार फस्टाउन थालेपछि केही वर्षदेखि श्रेणी विभाजन गरी जिल्ला समन्वय समितिले कर लिन थालेको छ ।

प्रतिक्रिया