अर्घ्य दिई छठी माताको आराधना

काठमाडौँ । छठ पर्वको मुख्य दिन मंगलबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मंगलबार मुख्य दिन हो । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ अन्त्य हुन्छ ।

तराई–मधेशसहित पहाडका विभिन्न जिल्लामा नदी तालसहितका जलाशयमा बनाइएका घाटमा उपस्थित लाखौँ भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए ।

गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजाआराधना गरेकी छन् । उनलाई श्री छठ पूजा समितिका पदाधिकारीले गुह्येश्वरी नदी क्षेत्रमा स्वागत गरेका थिए ।

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन । रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताए ।

आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । बुधबार छठ सकिएपछि नदी किनारमा सफाइ अभियान सुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया