पारपाचुके गर्नेमा प्रेमजोडी धेरै

काठमाडौं । काठमाडाैं बसुन्धाराका २८ वर्षीय मुकेश तुलाधरले ३ वर्षअघि प्रेम विवाह गरे । मनदेखि चाहेकी प्रेमिकासँग विवाह गर्न पाउँदा मुकेश निकै खुसी थिए । उनले आफ्नो चाहानाअनुसार नै विवाह गर्न पाउँदा खुसी नहुने कुरै थिएन ।

तर, विवाहसँगै उनीहरूको परिस्थिति र चाहनामा भने परिवर्तन हुँदै गयो । विवाह अघिको भेट र त्यसपछिको परिस्थिति, आवश्यकता र चाहनाले गर्दा विवाहको एक-दुई वर्षमै उनिहरूबीच खटपट बढ्न थाल्यो ।

खटपटले यति भयकंर रूप लियो कि अग्नि साक्षी राखेर सँगै बाँच्ने मर्ने कसम खाएका उनिहरू अहिले सम्बन्ध विच्छेद (पारपाचुके)का लागि जिल्ला अदालत काठमाडौं धाइरहेका छन् । नयाँ मुलुकी देवानी संहिताले पुरुषलाई पनि सम्बन्ध विच्छेदको अधिकार दिएपछि मुकेश सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतको शरणमा आइपुगेका हुन् ।

‘आमाबाबुले मागेको कन्यासँग जीवन बिताउन गाह्रो हुन्छ भन्ने सोचेको थिएँ’, अदालत परिसरमा भेटिएका मुकेशले भने, ‘सामान्य भेटघाट र चिनजानको भरमा मित्रता बढाई विवाह बन्धनमा बाँधिदा आज मेरो जीवन बर्बाद भयो ।’

मुकेश जस्ता धेरै पुरुषहरू अहिले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा आएका छन् । अदालतका अनुसार भदौदेखि कात्तिक २५ गतेसम्म १ सय ८८ पुरुषबाट सम्बन्ध विच्छेदको उजुरी परेको छ । त्यसमा पनि प्रेम विवाह गरेर आउनेको संख्या अत्याधिक रहेको काठमाडौं जिल्ला अदालत फिराद शाखाका दिनेश कुमार विष्टले बताए ।

‘भविष्यको चिन्ता नगरी हतारमा विवाह गर्ने २५ देखि ३० वर्ष उमेर समूहका जोडी धेरै छन् ।’ मागी विवाह गर्ने जोडीको तुलनामा प्रेम विवाह गर्नेको जोडी सम्वन्ध विच्छेद गर्न आउने धेरै रहेको उनले जानकारी दिए ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिताको परिच्छेद ३ को ९४ अनुसार पुरुषलाई सम्बन्ध विच्छेद गर्ने अधिकार दिएको छ । ‘कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले कुटपिट गरी अंगभंग वा शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा’ पुरुषले सम्बन्ध विच्छेद गर्न सक्ने अधिकार दिएको छ ।

अदालतले आउने उजुरीमा पहिला मेलमिलापकै लागि प्रेरित गर्ने गरेको छ । कहिलेकाहीँ मनमुटाव बढेर पनि सम्बन्ध विच्छेदको अवस्था आइपुगेको हुँदा अदालतले एक वर्षसम्म ‘कुलिङ पिरेड’ भनि तोकिएको छ । १ वर्ष ‘कुलिङ पिरेड’ बिताउँदै जाँदा अदालतमा उजुरी परेकामध्ये कति जोडीले सम्बन्ध विच्छेद उजुरी फिर्ता पनि लिने गरेका छन् ।

प्रतिक्रिया