गहुँको नयाँ बिउ सार्वजनिक

काठमाडौं । लामो प्रयासपछि बिएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन (सार्वजनिक) गरिएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का वैज्ञानिकले १२ वर्षको अनुसन्धानपछि सो बिउ पत्ता लगाएका हुन् । नयाँ जातको बिउ पत्ता लगाउन कम्तिमा १० वर्षको समय पर्खनुपर्ने नार्कका बाली तथा वागवानी निर्देशक डा. दीपक भण्डारीले बताए ।

नार्कले उच्चकोटिको मूल बिउ उत्पादन गरी नेपालका सबै कृषि केन्द्र, कृषि फार्म, र बिउबिजन कम्पनीलाई आफ्नो रेखदेखमा स्वामित्व हस्ताणतरण गर्ने र उक्त निकायले खेती गरी प्राप्त भएको बिउ दोस्रो वर्षपश्चात् विभिन्न निकायमार्फत बिक्री वितरण गर्नेछ ।

तराईका २२ जिल्लाका लागि सिफारिस भएको सो बिउ सबै किसानकहाँ भने अर्काे वर्ष मात्र पुग्नेछ । तराईमा हाल विजय, गौतम, एनएल ९७१, भृकुटी र वाणगंगा जातको बिउ गहुँखेतीका लागि सिफारिश गरिएको छ ।

केही वर्ष पहिले ‘नेपाल २९७’ जातको गहुँको बिउमा आठ वर्षबाट सिन्दुरे, पातडढुवा, र कालोपोके नामको रोगको अतिक्रमण बढेपछि उत्पादनमा व्यापक ह्रास आएको थियो । सो बिउको सट्टा बिएल ४३४१ नामको बिउ उन्मोचन गरिएको नार्कले जनाएको छ ।

नार्कले नेपालको हावापानी र माटो सुहाउँदो गहुँको बिउ क्रमशः उन्मोचन गर्दै गएका कारण नेपाल गहुँको बिउमा आत्मनिर्भर छ । खेत तथा बारीमा बिउ छरेको २२ देखि २५ दिनभित्र सिँचाइ आवश्यक पर्छ । सामान्यतया गहुँको बिउ छरेदेखि उत्पादन लिने समयसम्म गहुँमा तीनपटक सिँचाइ आवश्यक पर्छ । नेपाल गहुँमा आत्मनिर्भर छ ।

नेपालीको खाने आदतमा सुधार गर्ने हो भने हालको जनसंख्यालाई धान्न अहिले मौज्जदात रहेको नेपालको खाद्यान्न पर्याप्त हुने बताउँछन्, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी ।

प्रतिक्रिया