विश्व महिला बक्सिङमा पुनम र विमलाले भाग लिँदै

काठमाडौं । भारतको नयाँ दिल्लीमा आयोजना हुने आइबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । कात्तिक २९ गतेबाट मंसिर ८ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट पुनम रावल र विमला श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका हुन् । पुनमले ६० केजी र विमलाले ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । प्रतियोगितामा ६० भन्दा बढी राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुनम र विमला खुल्ला छनोटबाट छानिएकी हुन् । नेपाल बक्सिङ संघले गत असोज १४ देखि १६ सम्म सातदोबाटोमा आयोजना गरेको छनोटबाट दुवै खेलाडी छनोट भएकी थिइन् । च्याम्पियनसिपमा जाने पुनम र विमलासहितको चार सदस्सीय नेपाली टोलीलाई आइतबार बक्सिङ संघले विदाई गरेको छ । नेपाली टोलीको प्रशिक्षकमा लाल बहादुर पौडेल र व्यवस्थापकका लक्ष्मण कार्की रहेका छन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट , नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बिदाइ गरे ।

प्रतिक्रिया