नरैनापुरलाई स्मार्ट भिलेज बनाइनेः राई

बाँके । संघीय सरकारका सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले नरैनापुर गाउँपालिकालार्ई स्मार्ट भिलेज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्री राईको स्वागतका लागि नरैनापुर गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राईले पाँच वर्षभित्रमा नरैनापुरको मुहार नै फेर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले बस्ती सुधार कार्यक्रमअन्तर्गत नरैनापुरलाई स्मार्ट भिलेज बनाइने बताउँदै प्रदेश–५ मा चार वटा स्मार्ट भिलेज बनाउने कार्यक्रम रहेकोमा बाँकेमा नरैनापुर र डुडुवामा स्मार्ट भिलेज बनाउने योजना परेको जानकारी मन्त्री राईले दिए ।

जनता आवास कार्यक्रमअन्तर्गत यो वर्ष नरैनापुरका तीन सय परिवारलाई आवास दिइने पनि उनले बताए । जनता आवास कार्यक्रमअन्तर्गत फूसलाई छानामा परिणत गर्ने र अति विपन्नलाई घर बनाएर दिइने मन्त्री राईले जानकारी दिए ।

मन्त्री भएपछि शनिबार पहिलोपटक नरैनापुर पुगेका मन्त्री राईको स्वागतका लागि गाउँपालिकाले गरेको कार्यक्रममा बोल्दै राईले विकासमा पछाडि परेको नरैनापुरलाई समृद्ध बनाउन आफू प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै राईले अगाडि थपे, ‘मैले आफ्नो मन्त्रालय अन्तर्गतका केही योजना यो वर्ष पारेको छु, अन्य योजना आगामी वर्षमा थपिँदै जान्छन्, अरू मन्त्रालयसँग पनि कुरा गरेर आवश्यक योजना ल्याउँछु ।’

जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तबले नरैनापुरको विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नरैनापुरको विकास र समृद्धिका लागि आफू क्रियाशील रहेको बताउँदै बघौडालाई विशेष रूपमा हेर्न मन्त्री राईको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया