‘बारा महोत्सव’ को तयारी पूरा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित दुधौरा नदीको छेउमा पार्क निर्माण गर्ने उद्देश्यसहित ३० कात्तिकदेखि हुने बारा महोत्सव ०७५ को सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक एस फाउन्डेसन अफ नेपालले ३० कात्तिकदेखि १० मंसिरसम्म हुने ‘बारा महोत्सव’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

‘कृषि, पर्यटन र उद्योग बाराको पहिचान, दुधौरा रिभर पार्क निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको यस महोत्सवमा कृषि उत्पादनको बजारीकरण तथा प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादनको प्रदर्शनी, दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति रहने आयोजक एस फाउन्डेसन अफ नेपाल बाराका अध्यक्ष बेद भट्टले जानकारी दिएका छन् ।

१ सय ६ स्टल रहेको यस महोत्सवमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा आयोजकले जीतपुरसिमरा उपमहानगरपालिकासँगको सहकार्यमा गर्न लागेको यस महोत्सवबाट हुने आम्दानीको ५० प्रतिशत रकम दुधौरा रिभर पार्क निर्माण गर्न पालिकालाई सहयोग गर्ने आयोजकले सार्वजनिक गरेको छ ।

घोडसवारीलाई मुख्य आकर्षणको बनाएको यस महोत्सवमा स्थानीयस्तरमा रहेका विभिन्न भाषाभाषीहरूको सांस्कृतिक कार्यक्रमका साथै यस जिल्लालाई पर्यटकीयस्थलको रूपमा चिनाउने सिम्रोनगढ, गढीमाई, कंकालिमाई, बारागढी, कामिनी दह, पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको विभिन्न रमणीय स्थलहरू भिडियोहरूलाई प्रस्तुत गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

यसका साथै महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन राष्ट्रियस्तरका कलाकारहरूको सहभागिता रहनेछ । यस बारा महोत्सव–२०७५ मा राष्ट्रिय स्तरका कलाकार शिव परियार, प्रमोद खरेल, ज्योती मगर, कमल खत्री, कमल केसी, दीपक लिम्बू, मिलन लामा, टीका प्रसाई, प्रिति आले, प्रकाश सपुत, हांस्यकलाकार दिनेश काफ्ले, नेपाल आइडलका निशान भट्टराई, प्रताप दास, सुनील पण्डितलगायत ३० भन्दा बढी कलाकारको सहभागिता रहनेछ ।

प्रतिक्रिया