आरबिबी–एनभिए भलिबल पुस पहिलो साता

काठमाडौं । चौथो संस्करणको आरबिबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगिता पुसको पहिलो साता आयोजना हुने भएको छ । आयोजक नेपाल भलिबल संघले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको पहिलो साता पोखरामा आयोजना हुने जानकारी दिएको हो । पोखरा रंगशालामा हुने प्रतियोगिता पुस १ देखि ७ गतेसम्म संचालन हुनेछ । संघले पहिलोपटक काठमाडौंबाहिर लिग आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा गत फागुन १३ गतेदेखि १९ गतेसम्म भएको एनभिए राष्ट्रिय क्लब च्याम्पियनसिपका उत्कृष्ट ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, ढोरपाटन ट्रेनिङ सेन्टर र नयाँ बजार युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको विजेताले २ लाख प्राप्त गर्दा उपविजेताले १ लाख पाउनेछन् । यस्तै तेस्रोले ५० हजार र चौथोले २५ हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रूपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान ५–५ हजार नगद पुरस्कार पाउनेछन् ।यस्तै, प्रतियोगितामा एक टिमले कम्तीमा ३ विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको संघले जनाएको छ ।

प्रतियोगिताका लागि ८ टोली तथा अफिसियलहरूको खाने र बस्ने व्यवस्था आयोजकले मिलाएको छ ।
महिलाको यस प्रतियोगिता भने गत जेठमै सम्पन्न भइसकेको छ । नेपाली पुरुष टिम इन्डोनेसियामा सम्पन्न एसियन गेम्सको तयारीमा रहेको कारण पुरुषको यो प्रतियोगिता सारिएको थियो ।

प्रतिक्रिया