प्यालेसलाई हराउँदै टोटेनहम दोस्रो स्थानमा

एजेन्सी, क्रिस्टल प्यालेस । अर्जेन्टिनी डिफेन्डर जुआन फोइथले एक मात्र गोल गरेपछि इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार क्रिस्टल प्यालेसको मैदानमा टोटेनहम हट्सपर १–० ले विजयी भएको छ ।

अघिल्लो साता प्रिमियर लिगमा डेब्यु गरेका फोइथले वोल्भ्सविरुद्ध २ पेनाल्टी दिएपछि आलोचनाको सिकार भएका थिए ।

तर, प्यालेसविरुद्ध डिफेन्समा उत्कृष्ट प्रदर्शनसँगै विजयी गोल पनि गरेपछि भने उनलाई प्रशिक्षक माउरिचियो पोचेटिनोले प्रशंसा गरेका छन् ।२० वर्षीय डिफेन्डरले ६६ औं मिनेटमा ह्यारी केनले गरेको हेडर विपक्षी खेलाडीलाई लागेर आएपछि आफैँले हेड गर्दै पोस्टको दिशा दिएका थिए ।

यता, प्यालेसले पछिल्लो ७ खेलमा जित दर्ता गर्न सकेको छैन । घरेलु टोलीका लागि जेफ्री स्लपले अन्तिम समयमा उत्कृष्ट प्रयास गरे पनि कप्तान ह्युगो लोरिसले त्यसलाई विफल तुल्याए । स्पर्सकै पूर्व–खेलाडी आन्द्रोस टाउनसेन्ड र एलेक्जेन्डर सोरोलोथले पनि पाएको मौका सदुपयोग गर्न सकेनन् । यस नतिजासँगै प्यालेस लिग तालिकाको १६औँ स्थानमा छ । गोल अन्तरको आधारमा मात्र प्यालेस रेलिगेसन क्षेत्रभन्दा माथि छ ।

स्पर्सले भने १२ खेलमा २७ अंक जोड्दै अंक तालिकामा फड्को मारेको छ । तालिकाको चौथो स्थानमा भए पनि स्पर्स सिटीभन्दा २ अंक पछाडि छ । दोस्रो र तेस्रो स्थानमा रहेका चेल्सी र लिभरपुलको पनि समान २७ अंक नै छ । यद्यपि, खेलमा स्पर्सका लागि केही चिन्ता गर्ने ठाउँ रह्यो । डिफेन्डर काइरान ट्रिपिएर र मिडफिल्डर एरिक लामेला चोटका कारण मैदान छाड्न बाध्य रहे ।

प्रतिक्रिया