मेस्सी टोलीमा फर्किए

एजेन्सी, बार्सिलोना । पछिल्लो तीन सातादेखि चोटका कारण मैदानबाहिर रहेका बार्सिलोना कप्तान लिओनेल मेस्सी आइतबार ला लिगाअन्तर्गत बार्सिलोना र रियल बेटिसको खेलमा टोलीमा फर्कने भएका छन् । यद्यपि उनले सुरुवात गर्ने वा बेन्चमा बस्ने भन्ने यकिन भइसकेको छैन ।

अक्टोबर तेस्रो साता लिग खेलमा चोट बोकेका मेसीको अनुपस्थितिमा बार्सिलोनाले ५ खेल खेलेको थियो । त्यसमध्य बार्सिलोना ४ खेलमा विजयी रहयो भने पछिल्लो खेलमा इन्टर मिलानसँग १–१ को बराबरीमा रोकियो । यसबीचमा बार्सिलोनाले एक क्लासिकोमा रियल म्याड्रिडलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्यो । उक्त खेलमा लुइस सुआरेजले ह्याट्रिक पनि गरेका थिए ।

मेसीले बेटिसविरुद्ध खेल्ने पक्का भएसँगै बार्सिलोनाको समस्या केही सुल्झिएको छ । यस खेलका लागि फिलिपे कोउटिन्हो चोटका कारण अनुपस्थित रहनु र प्रशिक्षक एर्नेस्टो भालभेर्डेले ओस्मान डेम्बेलेलाई टोलीमा नसमेट्दा आक्रमण केहि कमजोर हुने आँकलन गरिएको थियो । आक्रमणमा लुइस सुआरेज र मेसी उपस्थित भएसँगै यो चिन्ता भने सकिएको छ ।

प्रतिक्रिया