विशेष

न्याय माग्दै परिवार धर्नामा

निर्मला हत्या प्रकरण

सौर्य अनलाइन २०७५ कार्तिक २६ गते ६:१८ मा प्रकाशित

धनगढी । बलात्कारपछि हत्या गरेकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै उनको परिवार अनशनमा बसेको छ ।

घटना भएको साढे तीन महिना बितिसक्दा पनि हत्याको छेउसम्म समेत पुग्न नसकेको भन्दै पीडित परिवार आइतबारबाट अनिश्चितकालीन २४ घण्टे धर्नामा बसेको हो ।

जिल्ला प्रशासन कार्यालयको मुख्य गेटमा निर्मलाका आमाबुबा घरका सदस्यसहित आफन्त र अधिकारकर्मी धर्नामा बसेका हुन् । आमाबुबासँगै निर्मलाकी बहिनी सरस्वती र भाइ मोहितसमेत बसेका छन् ।

धर्ना बस्नुअघि निर्मलाका बुबा यज्ञराजले प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई धर्ना बस्ने कार्यक्रमबारे जानकारी गराएका थिए । उनले छोरीका हत्यारा सार्वजनिक नभएसम्म धर्ना जारी रहने जानकारी गराएका छन् ।

‘अब छोरीका हत्यारा सार्वजनिक नभएसम्म हामी यहाँबाट उठ्दैनौँ’, धर्ना बस्नुअघि यज्ञराजले भने, ‘मेरो लडाइँ न्यायका लागि हो ।’ उनले जस्तोसुकै अवस्था आए पनि न्याय नपाउँदासम्म धर्नामा बसिरहने बताए ।

साउन १० गते साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार र आफन्तले आन्दोलन गर्दै आएका छन् ।

बलात्कारपछि हत्या गरिएको अवस्थामा किशोरीको शव गत साउन ११ गते स्थानीय उखुबारीमा फेला परेपछि पीडित परिवारसहित स्थानीयले आन्दोलन थाले पनि प्रहरीले अनुसन्धानका लागि प्रमाणसमेत जुटाउन सकेको छैन ।

यही बीचमा न्यायको खोजीमा निर्मलाका बुबा र आमा काठमाडौंसमेत पुगेका थिए । प्रधानमन्त्री, गृहमन्त्री सबैलाई भेटेर पनि न्याय नपाइएपछि अन्तिम विकल्पका रूपमा धर्ना बस्नुपर्ने निर्मलाकी आमा दुर्गा देवीले बताइन् । ‘सबैले हत्यारा पत्ता लगाउँछौँ भन्छन्, तर अहिलेसम्म हामीले न्याय पाएनौँ’, उनले भनिन्, ‘त्यही भएर धर्ना बस्नुपर्ने अवस्था आएको हो ।’

आइतबार दिउँसो महेन्द्रनगरको मदनचोकमा भेला भएका परिवार र महिला अधिकारकर्मीहरूले ¥यालीसहित बजारमा प्रदर्शन गरेका थिए । र्यालीमा निर्मलाका सहपाठी साथीहरूसमेत सहभागी थिए । महेन्द्रनगर बजारमा प्रदर्शनपश्चात् जिल्ला प्रशासन कार्यालयअगाडि पुगेपछि बुबा यज्ञराज, आमा दुर्गादेवी, कान्छी आमा लक्ष्मी र आफन्तहरू धर्नामा बसेका हुन् ।

दोषी किटानमा असफल प्रहरी

घटनापछि सरकारबाट छानबिन टोली र प्रहरीबाटै विभिन्न अनुसन्धान टोली बने । तर, त्यसले अहिलेसम्म पनि दोषीको भनेर किटान लगाउन सकेन । घटनाको अनुसन्धानमा भएको लापरबाही मात्र औँल्याएको छ ।

सरकारी छानबिन टोलीले सामूहिक बलात्कार भएको र हत्या गरेर त्यहाँ फालेको तथा प्रहरी अधिकारीहरूले लापरबाही गरेको भन्दै प्रतिवेदन बुझायो । सो प्रतिवदेनअनुसार कञ्चनपुरका तत्कालीन प्रहरीका उपरीक्षक दिल्लीराज विष्टसहित प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट बर्खास्त भएका छन् । अन्य प्रहरी अधिकारी पनि निलम्बनमा परेका छन् ।

तर, सोभन्दा अनुसन्धान अघि बढ्न सकेको छैन । प्रहरीले अहिले पनि अनुसन्धान जारी राखेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले अनुसन्धान जारी रहेको र टिम खटिरहेकाले जतिसक्दा चाँडो घटनाको केन्द्रमा पुग्ने बताए ।

यद्यपि, उनले अनुसन्धान कहाँनिर पुग्यो भनेर अहिले नै ठयाक्कै भन्ने अवस्था नरहेको जानकारी दिए । घटनापछि शंकास्पद रहेका चार जनाको डिएनए परीक्षण गरे पनि त्यो मेल खाएन । त्यसपछि अहिले पुनः केही व्यक्तिको डिएनए परीक्षण गरिएको प्रहरीले जानकारी दिएको छ । यद्यपि, उनीहरूको पहिचान भने प्रहरीले गोप्य नै राखेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय