‘लालटीनको उज्यालो’ को परिचर्चा

बुटवल । साहित्यकार सरस्वती ज्ञवालीद्वारा लिखित आत्मकथा ‘लालटीनको उज्यालो’ माथि परिचर्चा तथा समालोचना गरिएको छ ।  बुटवल साहित्य, कला तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा साहित्यकारले ‘लालटीनको उज्यालो’ ले नेताकी श्रीमती हुँदैमा महिला सुखी र खुसी हुन्छन् भन्ने भ्रम राख्न नहुने कुरा उजागर गरेको धारणा राखे ।

उनीहरूले कृतिले नेताको परिवारमा रहेको निराशा र अहमता पाल्नुहुन्न भन्ने विषयलाई पुष्टि गरेको बताए । एउटा नेताकी आदर्श श्रीमतीले भोगेको जीवनकहानीमा केन्द्रित रही लेखिएको यो आत्मकथाले नयाँ पुस्तालाई नेपाली समाजको संस्कार र सभ्यताको विकासक्रम सिकाएको बताए ।

कार्यक्रममा साहित्यकार तथा समालोचक ऋषिराम भुसालले कृतिमाथि टिप्पणी गर्दै समाज परिवर्तनका लागि पार्टीको झन्डा बोकेर हिँडेकी एउटी नेतृले छोरी जन्मेपछि आफ्ना सबै चाहना र लक्ष्यहरू त्यागेर पारिवारिक जिम्मेवारी सम्हाल्दै गर्दा आएका विचार र भावनाहरू यस आत्मकथामा समेटेको बताए । उनले निकै शिष्ट र मर्यादित भाषामा लेखिएको आत्मकथा पुराना पुस्तामा रहेको संस्कार, सभ्यता र कुरीतिहरू अध्ययन गर्न चाहने नयाँ पुस्ताका लागि रुचिकर हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा लेखक सरस्वतीले पारिवारिक जिम्मेवारी पूरा गर्न आफ्ना लक्ष्य र उद्देश्य त्यागेर गुमनाम जिन्दगी बिताएको बताइन् । उनले भनिन्, ‘पारिवारिक जिम्मेवारीका कारण गुमनाम र अन्धकार जिन्दगीबाट बाहिर निस्किन ‘लालटीनको उज्यालो’ ल्याएकी हुँ ।’

उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकी श्रीमतीसमेत हुन् । सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले लालटीनको उज्यालोले महिलालाई अँध्यारो जिन्दगीबाट बाहिर निस्कन प्रेरणा दिने बताए ।

कार्यक्रममा साहित्यकार दीपक ज्ञवाली, गिरी श्रीस, दलबहादुर गुरुङ, मिनाक्षी न्यौपानेलगायतले लालटीनको उज्यालोले नेपाली समाजमा महिलाले भोगिरहेका अन्धकार जीवनका भोगाइहरू बाहिर ल्याएको चर्चा गरे ।

प्रतिक्रिया