‘शान्ता’को अङ्ग्रेजी संस्करण सार्वजनिक

काठमाडौँ । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको उपन्यास ‘शान्ता’को अङ्ग्रेजी संस्करण सार्वजनिक गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्म जयन्तीका अवसरमा विराज समाजले आयोजना गरेको कार्यक्रममा अङ्ग्रेजी संस्करण लोकार्पण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अङ्ग दान गर्ने शान्ताको दर्शन के हो त्यो पाठकसमक्ष आउनुपर्ने बताए ।

भोजपुरमा योगमायाले कुनै दर्शन जानेर अरुण नदीमा जलसमाधि लिएकी थिइनन्, योगमायाको भित्रबाट आएको भावनाले उनका अनुयायीले समेत जलसमाधि लिएका थिए, त्यस विषयमा लेखिएको पुस्तकले यसै वर्ष मदन पुरस्कार पाएको छ, यस्तै शान्तालाई दर्शन थाहा नहोला तर उहाँभित्र पनि दर्शन छ, त्यो पाठक समक्ष आउनुपर्छ”, उनले भने ।

जीवन्त घटनामा आधारित भएर लेखिएको शान्ता उपन्यास नेपाली भाषा साहित्यकै उपलब्धिका रूपमा रहने संस्कृतिविद् जोशीले सुनाए । नेपालका वरिष्ठ चिकित्सक आफ्ना मामाका लागि मिर्गौला दान गरेर शान्ताले सीता र भृकुटीको जत्तिकै ऐतिहासिक काम गरेको उनको भनाइ थियो ।

पुस्तकका लेखक दाहालले अङ्ग्रेजी संस्करण बिक्रीबाट आएको रकम समाजको कोषमा राखिने बताए । पुस्तकका अनुवादक नारायण घिमिरेले नेपालीमा भएको भाव झल्किने गरी अङ्ग्रेजी अनुवाद गरिएको जानकारी दिए । अङ्ग्रेजी संस्करणको समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालय अङ्ग्रेजी विषयका उपप्राध्यापक केशव सिग्देलले उपन्यासकी नायिकामाथि लेखकीय न्याय हुन नसकेको टिप्पणी गरे ।

सो अवसरमा कविहरु कलानिधि दाहाल, सोझो गाउँलेलगायतले कविता वाचन गरे । कार्यक्रममा कलाकार लक्ष्मी गिरी, कार्यक्रम संयोजक दिनेश मगर लगायतले पुस्तकले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरे ।

प्रतिक्रिया