टेस्ट शृंखलामा जिम्बाब्वेको १–० को अग्रता

एजेन्सी । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि जिम्बाब्वेले मंगलबार बंगलादेशलाई १ सय ५१ रनले हराउँदै दुई खेलको टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ । जिम्बाब्वेले पराई भूमिमा टेस्ट जितेको यो १७ वर्षपछि पहिलो हो । ३ सय २१ रनको लक्ष्य पछ्याएको बंगलादेशले चौथो दिनमा १ सय ६९ रन बनाउँदा सबै विकेट गुमायो । यसअघि २००१ नोभेम्बरमा पनि जिम्बाब्वेले बंगलादेशविरुद्धको दोस्रो टेस्ट ८ विकेटले जितेको थियो । त्यतिवेला पहिलो टेस्ट बराबरी भएको थियो ।

बंगलादेशलाई चौथो दिनमै अलआउट गर्नेक्रममा जिम्बाब्वेका ब्रेन्डोन मभुटाले ४ विकेट लिए । सिकन्दर राजाले महत्वपूर्ण तिन विकेट लिँदा वेलिङटन मासाकाड्जाले २ तथा केली जर्भिसले १ विकेट लिए । दोस्रो इनिङमा बंगलादेशका इमरुल कायसले सबैभन्दा धेरै ४३ रन बनाए । कायसले पहिलो इनिङमा ५ रन मात्र जोडेका थिए । अरिफुल हकले ३८ र ओपनर लिटोन दासले २३ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

 

बंगलादेशका महमुदुल्लाहले १६ तथा नाजमुल होसेन सान्टो र मुसफिकर रहिमले समान १३ रनको स्कोर बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो इनिङमा पनि बंगलादेशका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । अरिफुलले ४१, मुसफिकर रहिमले ३१, मेहिदी हसन मिराजले २१ तथा मोमिनुल हकले ११ रन जोड्नुबाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन ।

पहिलो इनिङमा जिम्बावेका सिकन्दर राजा र टेन्डाई चटराले समान ३ विकेट लिए । जर्भिसले २ तथा सेन विलियम्सले १ विकेट लिएका थिए । तीन ब्याट्सम्यानले अर्धशतक बनाएपछि भ्रमणकारी जिम्बाब्वेले पहिलो इनिङमा २ सय ८२ रन बनाएको थियो । जिम्बाब्वेका कप्तान ह्यामिल्टन मासाकाड्जाले ५२, सेन विलियम्सले ८८ रन बनाउँदा पिटर मुरले अविजित ६३ रन जोडेका थिए । पहिलो इनिङमा बंगलादेशका तैजुल इस्लामले ६ विकेट लिएका थिए । नाजमुल इस्लामले २ तथा अबु जायद र महमुदुल्लाहले १–१ विकेट आफ्नो नाममा लेखाएका थिए ।

दोस्रो इनिङमा जिम्बाब्वेका कप्तान मासाकाड्जाले सबैभन्दा धेरै ४८ रन बनाएका थिए । सिकन्दर राजाले २५, ब्रेन्डन टेलरले २४, रेगिस चाकब्बाले २० रन जोडे । दोस्रो इनिङमा जिम्बाब्वेले १ सय ८१ रन जोडेको थियो । बंगलादेशका तैजुल इस्लामले ५, मेहिदी हसनले ३ तथा नाजमुल इस्लामले २ विकेट लिए । बंगलोदशले पहिलो इनिङमा १ सय ४३ रन जोडेको थियो ।

प्रतिक्रिया