बार्सिलोनाको सामना गर्दै इन्टर मिलान

मिलान । युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति इटालियन क्लब इन्टर मिलानले स्पेनिस प्रतिद्वन्द्वी बार्सिलोनालाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तर्गत समूह ‘बी’ को चौथो चरणको खेलमा इन्टरले बार्सिलोनासँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

समूह ‘बी’ को शीर्षस्थानमा रहेको बार्सिलोना इन्टरलाई उसकै घरेलु मैदानमा पराजित गर्दै अघिल्लो चरणको यात्रालाई थप बलियो बनाउने योजनामा हुनेछ । बार्सिलोना समूहमा अपराजित रहेको छ । उसले समूह चरणको तीन खेलमै जित हात पारेको छ । लिग चरणको पहिलो खेलमा बार्सिलोनाले इन्टरलाई २–० ले पराजित गरेको थियो । बार्सिलोना यही खेललाई निरन्तरता दिने योजनामा हुनेछ ।

तर, बार्सिलोनालाई आफ्ना कप्तान लियोनेल मेस्सीले खेल्नेमा शंका छ । उनलाई प्रशिक्षक इर्निस्टो भालभार्डेले टिममा समावेश गराएको छ, तर उनलाई जोखिममा नमोल्ने बताएका छन् । उनी स्पेनिस ला लिगा अन्तर्गत सेभिल्लाविरुद्धको ४–२ को जितेको खेल दौरान घाइते भएका थिए । त्यसयता मेस्सीले चार खेल गुमाइसकेको छ । मेस्सीको अनुपस्थितिमा पनि पछिल्ला सबै चार खेलमा जित हात पारेको छ ।

मेस्सीको अनुपस्थितिमा अर्का स्टार खेलाडी लुइस सुवारेजले गज्जबको प्रदर्शन गरिरहेका छन् । सुवारेज नै इन्टरविरुद्धको खेलमा मुख्य हतियार बन्नेछन् । उनलाई फिलिपे कौटिन्हो, राफिन्हा, इभान राकिटिक र अर्थर जस्ता खेलाडीले साथ दिनेछन् ।

यता, इन्टर मिलान घरेलु मैदानमा बार्सिलोनालाई स्तब्ध पार्दै अघिल्लो खेलमा भोगेको हारको बदला लिने योजनामा हुनेछ । इन्टरको अग्रपंक्ति मौरो इकार्डीले सम्हाल्दा उनलाई इभान पेरिसिकले साथ दिनेछ । इन्टर समूहमा ३ खेलबाट २ जित र १ हारबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

मंगलबार राति नै यही समूहको अर्काे खेलमा इंग्लिस क्लब टोटेनहम हस्टपरले डच क्लब पीएसभी इन्होभेनको सामना गर्दैछ । समूह चरण पार गर्ने सम्भावनालाई जीवितै राख्न दुवै टोलीलाई जितको आवश्यक छ । समूहमा दुवै टोली समान १ बराबरी र २ हारबाट १ अंक जोडेर तेस्रो र चौथो स्थानमा छ ।

प्रतिक्रिया