कोरियाकी रानी बनेकी भारतकी राजकुमारी

नयाँदिल्ली । दक्षिण कोरियाकी प्रथम महिला किम जङ(सुकले उत्तर भारतस्थित प्राचीन नगर अयोध्याको भ्रमण गरेकी छन् ।

केही दक्षिण कोरियालीहरू भगवान् रामको जन्मस्थलका रूपमा परिचित अयोध्यासँग आफ्नो विशेष सम्बन्ध भएको मान्छन् । उनीहरू अयोध्या आफ्ना पुर्खाको मावली भएको विश्वास गर्छन् ।

सुरिरत्ना नाम गरेकी एउटी भारतीय राजकुमारीको कोरियाका एक राजासँग विवाह भएको किम्वदन्तीहरू कोरियामा सुन्न पाइन्छ । राजकुमारी सुरिरत्नाको अर्को नाम हु ह्वाङ(ओक थियो ।

किम्वदन्तीअनुसार उनी दुई हजार वर्षअघि अर्थात् इस्वी सम्वत् ४८ मा कोरिया गएकी थिइन् र त्यहाँ उनको एकजना राजासँग विवाह भएको थियो । उनीहरूबाटै कारक राजवंश सुरु भएको मानिन्छ ।

चिनियाँ भाषाका केही ग्रन्थका अनुसार अयोध्याका तत्कालीन राजाले सपनामा भगवान्बाट आफ्नी १६ वर्षीया छोरीलाई कोरिया पठाएर राजा किम सुरोसँग विवाह गराइदिन आदेश पाएका थिए । दक्षिण कोरियाका लोककथा लोकप्रिय पुस्तक ’साम्गुङ युसा’ (तीन राज्यका चिनोहरू) मा रानी ह्वाङ(ओक ’अयुता’की राजकुमारी भएको उल्लेख छ ।

ती राजा र रानीको ऐश्वर्य फैलियो र उनीहरूका १० छोरा जन्मिए। उनीहरू दुवै जना १ सय ५० वर्षभन्दा बढी बाँचे । मानवशास्त्री किम ब्युङ(मोले कोरियाली कथाको ‘अयुता’ उत्तर भारतको अयोध्या नै भएको दाबी गर्छन् ।

तर ती राजकुमारी साँच्चै अस्तित्वमा थिइन् भन्ने स्पष्ट प्रमाण भने भेटिएको छैन । बीबीसी कोरियाली सेवाका डेभिड क्यान भन्छन्, ‘उनको कथा मिथक हो र प्राज्ञहरू त्यसलाई इतिहास मान्दैनन् ।’ क्यानका अनुसार भारतीय मूलकी कोरियाली रानीबारे विभिन्न कथाहरू र तिनमा कल्पनाशीलताको पर्याप्त प्रयोग भएको छ ।

कोरियामा किम थर सामान्य मानिन्छ । राजा किम सुरो नै किम्हे क्षेत्रमा बसोबास गर्ने किमवंशका पहिलो व्यक्ति हुन् भनिन्छ । बीबीसी कोरियाली सेवाकी मिन्जी ली भन्छिन्, ‘कोरियामा परम्परागत रूपमा पिताको थर नै सन्तानले राख्छन् । उनको थर आफ्ना सन्तानले प्रयोग गर्न नपाउने देखेर ती रानी दुस्खित भएकी थिइन् भन्ने छ ।’

‘किम्वदन्तीअनुसार त्यसैले राजा सुरोले आफ्ना दुई छोरालाई रानीको नाम (हु) थरका रूपमा प्रयोग गर्ने अनुमति दिए। त्यो थर अहिले पनि चलेको छ ।’ ती राजदम्पतीका वंशजको सङ्ख्या अहिले ६० लाखभन्दा बढी अर्थात् दक्षिण कोरियाको जनसंख्यायाको झन्डै १० प्रतिशत पुगेको इतिहासकारहरू बताउँछन् ।

कारकवंशीहरूले आफ्नी कुलमाताले कोरिया आउने क्रममा समुद्रको यात्रा गर्दा डुङ्गा स्थिर राख्न प्रयोग गरेको भनिएका ढुङ्गाहरू संरक्षण गरेर राखेका छन् । दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम–डेई जङ र पूर्वप्रधानमन्त्री किम जोङ–पिल आफूहरू पनि कारकवंशी नै भएको मान्छन् ।

बिबिसी कोरियाली सेवाका केही सहकर्मीले यस्तो किम्वदन्ती आफूले पनि सुनेको तर धेरै पहिलाको विषयवस्तु भएकाले यसको मान्यता व्यापाक भएजस्तो आफूलाई नलागेको बताउँछन् । ली भन्छिन्, ‘विद्यालयमै छँदा मैले पनि यसबारे सुनेकी थिएँ । म र मेरा साथीहरू आफ्नो पुख्र्याैली त्यति परसम्म भएको सुन्दा दंग पथ्यौँ ।’

तर केही व्यक्ति भने ती राजकुमारी थाइल्यान्डबाट आएकी र उनको जन्मस्थल थाइल्यान्डको अयुत्तया भएको हुनसक्ने बताउँछन् । इन्टरनेटमा उपलब्ध केही सामग्रीले केही किम्हेवासीले कालो छाला भएका मानिसको पुर्ख्यौली भारतमार रहेको भन्ने किम्वदन्तीलाई एउटा ठट्यौली मान्ने गरेको संकेत गर्छन् ।

किम्हे र अयोध्याबीच भगिनीसम्बन्ध स्थापित गर्न सन् २००० मा एउटा सहमति भएको थियो । त्यसको एक वर्षपछि सय जनाभन्दा बढी इतिहासकार एवम् भारतका लागि उत्तर कोरियाली राजदूतसमेत सरकारी प्रतिनिधिहरूले संयुक्त रूपमा अयोध्यास्थित सरयू नदीको पश्चिमी तटमा रानी ह्वाङ(ओकको स्मारक अनावरण गरे ।

आफूलाई उनका वंशज मान्नेहरू ती रानीलाई उनकै मातृभूमिमा श्रद्धाञ्जलि व्यक्त गर्न भनेर प्रत्येक वर्ष अयोध्या जान्छन् । सन् २०१६ मा एउटा कोरियाली टोलीले सो स्मारकस्थलको थप विकास गर्न भनेर उत्तर प्रदेशको राज्यसरकारलाई एउटा प्रस्ताव पठायो ।

प्रथम महिलाको हैसियतमा नोभेम्बर ४ देखि ७ सम्म भारत भ्रमणमा आएकी दक्षिण कोरियाली राष्ट्रपतिकी पत्नी दुई देशले संयुक्त रूपमा गर्न लागेको सो स्मारकको स्तरोन्नतिको कार्यारम्भ समारोहमा सहभागी हुने कार्यक्रम छ । जे होस् रानी ह्वाङ(ओकको कथा दक्षिण कोरिया र भारतबीच सम्बन्ध राम्रो बनाउने आधार बनेको देखिन्छ ।

दिल्लीमा कार्यरत प्राध्यापक किम डो(युङ भन्छन् ( प्रथम महिलाको यो भ्रमण त्यसमै थप अर्को कदम हो ।

प्रतिक्रिया