एकताको काम तीव्र गतिमा

काठमाडाैं । पार्टी एकता भएको लामो समयपछि पनि तल्ला तहको एकता प्रक्रिया र केन्द्रीय सदस्यको कार्यविभाजन नटुंगिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तिहारलगत्तै सबै तहको एकता प्रक्रिया टुंग्याउने तयारी गरेको छ ।

महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदलले तिहारलगत्तै केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड गर्दै तल्लो तहको एकतासमेत गर्ने गरी सचिवालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

कार्यदलको प्रतिवेदन बुझेपछि सचिवालयले उक्त प्रतिवेदनलाई अनुमोदन गर्दै एकता र कार्यविभाजनलाई सकाउने तयारी गरेको हो । एकता प्रक्रिया लम्बिएकाले नेता कार्यकता रुष्ट हुनुको साथै पार्टी नै ‘प्यारालाइसिस’ जस्तो भएको शीर्ष नेतालाई आरोप लाग्दै आएको छ ।

तर, अध्यक्ष पुष्पकमल दाहालले भने भविष्यमा कुनै विवाद नआवस् भन्नका लागि अहिले नै पहल गरिरहेकाले केही समय ढिला भएको बताएका छन् । उनले तिहारलगत्तै बैठक डाकेर एकता गरिनेसमेत जानकारी दिए ।

नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय रहेको छ । ‘कार्यदलले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको गृहकार्य गरिरहेको छ । साथै सोही कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिने गरी प्रस्ताव तयार गर्दै छ’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘तिहारलगत्तै सचिवालयको बैठक बस्ने भनिएको छ ।

सोही सचिवालय बैठकले स्थायी कमिटीको बैठक बोलाउँछ र उक्त बैठकले कार्यदलले तयार पारेको प्रस्तावमाथि छलफल गरी त्यसलाई अनुमोदन गर्छ । र बाँकी रहेका तल्लो तहको एकतालाई समेत पूर्णता दिन्छ ।’

कार्यदलले ४ सय ४१ केन्द्रीय सदस्यलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीसम्म परिचालन गर्ने गरी जिम्मेवारी दिने गृहकार्य गरेको छ । तिहारअघि कार्यदलले प्रदेश कमिटी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्ताव तयार गर्ने गरी काम अगाडि बढाएको छ ।

केन्द्रीय तहमा रहने विभाग, जनवर्गीय संगठनको जिम्मा कसकसलाई दिइने भन्नेबारै कार्यदलले अध्यक्षद्वयसँग सल्लाह गर्नेछ । शीर्ष नेताहरूले बारम्बार स्थायी कमिटीको बैठक सार्दै आएको भन्दै धेरै नेता असन्तुष्ट बनेका छन् । गत साउनदेखि नेकपाको स्थायी कमिटीको बैठक बस्न सकेको छैन । बैठक लगातार पाँचपटक स्थगित भएको छ ।

नेकपाले केन्द्रीय तहमा बनाउनुपर्ने पोलिटब्युरो, ३२ विभाग र सल्लाहकार परिषद्लगायतका कमिटी गठन गरेको छैन । नेकपाले संगठन विभाग, विदेश मामिला विभाग, प्रचार तथा प्रकाशन विभाग र पार्टी स्कुलिङ जस्ता महत्वपूर्ण विभागको नेतृत्व केन्द्रीय सचिवालयका नेताले गर्नेछन् ।

त्यस्तै, स्थायी कमिटी सचिवालयका ९ सहित ४५ सदस्यीय छ । स्थायी कमिटी सदस्यलाई अन्य केन्द्रीय विभागको जिम्मेवारी दिने छलफल सचिवालय तहमा भएको छ ।

प्रतिक्रिया