सनील र सुमनको जोडीलाई उपाधि

काठमाडौं । नागबहालका शाक्य जोडी सनील र सुमन १०औं यल कप ब्याडमिन्टन रनिङ शिल्डअन्तर्गत पुरुष युगलमा उपाधि जित्न सफल भए । सनील र सुमनले फाइनलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेका आफ्नै क्लबका ससिन डंगोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले स्तब्ध बनाए । दथुलँका राजु वज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी वज्राचार्य र सन्दीप शाक्यको जोडी संयुक्त रूपमा तेस्रो भए । सनिल र सुमनको जोडीले ३० हजार, ससिन र सुमितले नगद २० हजार र तेस्रा दुई जोडीले १०÷१० हजारका साथै ट्रफी र मेडल प्राप्त गरे ।

शंखमूलस्थित इलेभेन स्टार क्लबको आयोजनामा भएको यु–१५ एकलमा पनि नागबहालका सहज शाक्य च्याम्पियन भए । सहजले आफ्नै क्लबका सुजल शाक्यमाथि २१–१५, १३–२१ र २१–१७ को जित निकाले । नागबहालकै श्रवण शाक्य तथा प्रयागपोखरीका पूजन चित्रकार संयुक्त रूपमा तेस्रो भए । मिक्स युगलतर्फ दथुलँका राज वज्राचार्य र यास्ना डंगोलको जोडी च्याम्पियन भए । यो जोडीले फाइनलमा दथुलँकै सुमित महर्जन र लिपि वज्राचार्यको जोडीलाई २१–१८ र २१–१४ ले स्तब्ध बनायो ।

नागबहालका शाक्य जोडी सुमन र प्रकृति तथा ओकुबहालका दीपेश शाक्य र सुपला वज्राचार्यको जोडी संयुक्त तेस्रो स्थानमा रहे । यु–१५ र मिक्सतर्पm शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः १० हजार, ७ हजार र ४ हजार नगदका साथै ट्रफी र मेडल प्राप्त गरे । भेट्रान्समा मंगलबजारका वीरेन्द्रलाल श्रेष्ठ र किशोर व्यञ्जनकारको जोडी च्याम्पियन भए । श्रेष्ठ र व्यञ्जनकारको जोडीले फाइनलमा नागबहालका शाक्य जोडी सुदिम र प्रवीणको जोडीलाई २१–१७ र २४–२२ ले स्तब्ध बनाए ।
प्रयागपोखरीका पूर्णभक्त चित्रकार र कमल राजकर्णिकार तथा ओकुबहालका शाक्य जोडी कमल र राजेशको जोडी तेस्रो भए । शीर्ष तीनले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार ट्रफी र मेडल प्राप्त गरे । विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया