सिंहदरबारले नदेखेकाे ‘बोक्सी’

जनकपुर । धुनषामा एक महिलालाई कुटपिट गरी जातीय पञ्चायतले बोक्सी स्वीकार गर्न लगाई उनकै रकमबाट भोज गराएको घटना सार्वजनिक भएको छ । जातीय पञ्चायतले पीडित महिलालाई बोक्सी स्वीकार गर्न लगाई भोज खाने रकमसमेत असुल गराएको हो ।

एक दलित महिलामाथि बोक्सी आरोपमा पञ्चायतमै कुटपिटसँगै एक लाख जरिवाना गरेका हुन् । पूर्वी क्षेत्रको धनौजी गाउँपालिका–२ बस्ने ३८ वर्षकी मन्तोरियाल देवी मण्डल खत्वेलाई गत ९ कात्तिकमा जातीय पञ्चहरूले बोक्सी भन्दै कुटपिट गरेका हुन् ।

पञ्चहरूले मनतोरियालाई बोक्सी स्वीकार गर्न लगाई ५० हजार रकम र भोजस्वरूप ५० हजार गरी एक लाख जरिवानासमेत तिर्न बाध्य बनाएको पीडित मन्तोरियालले बताइन् । उनका पति इन्द्रजित मण्डल खत्वे वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा कार्यरत रहेका छन् ।

घरमा एक्लै भएका बेला उनका जेठाजु इन्दल मण्डल खत्वेको परिवारले बोक्सीको आरोप लगाउँदै उनीमाथि जाइलागेका थिए । त्यसपछि इन्दलले जातीय पञ्च बोलाएर पञ्चायतमै सार्वजनिक रूपमै मन्तोरियालाई निर्घात कुटपिट गरी बोक्सी स्वीकार गर्न लगाए । पञ्चायतमा खत्वे समाजका स्थानीय माइजन फुलगेन मण्डल, दुःखी मण्डल, वीरेन्द्र मण्डललगायत जेठाजु समेतले लछारपछार गर्दै कुटपिट गरेको पीडित मान्तोरियाले दुःखेसो पोखेकी छन् ।

‘पहिला घरमा विवाद भयो, जेठाजु इन्दल, जेठानी मानकीदेवी लगायतले कुटपिट गरे, त्यसपछि जेठाजुले खत्वे समाजका पूरै पञ्चहरू बोलाए, मलाई बोक्सी स्वीकार गर्न लगाए ।’ उनले भनिन्, ‘बोक्सी रहेको अस्वीकार गर्न बाध्य बनाएपछि पञ्चायतमै लछारपछार गर्दै पञ्चहरूले हात, खुट्टा, मुक्काले शरीरको विभिन्न भागमा निर्घात कुटपिट गरे ।’ निरन्तरको कुटपिटपछि पीडा सहन नसकेर आपूmले बाध्य भएर स्विकारनुपरेको उनले बताइन् ।

पीडितले आरोप स्वीकार गरेपछि पञ्चहरूले जरिवानासमेत सुनाएका थिए । ‘त्यसपछि पञ्चहरूले ५० हजार रुपैयाँ जरिवाना र थप ५० हजार रुपैयाँको भोज गर्नुपर्ने भन्दै एक लाख तिर्नुपर्ने निर्णय गरे’ मन्तोरियालले भनिन् । पञ्चायतमै उनले आफ्नो कुनै गल्ती नरहेको भन्दै कुनै पनि जरिवाना नतिर्ने जिकिर गरेपछि त्यहाँ रहेका पञ्चहरूले पुनः गाउँलेकै अगाडि कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस् भएपछि मन्तोरियाललाई पञ्चायतले त्यही छाडेर गएका थिए ।

उनले आफू बेहोस भएको र पछि थाहा हुँदा छोरीले उठाएर घरमा लगेको बताइन् । चार छोराछोरीकी आमा मन्तोरियाले विदेशमा रहेका आफ्ना पतिलाई फोन गरेर घटना सुनाएकी थिइन् । त्यसपछि पतिको निर्देशनअनुसार उनी न्याय माग्नका लागि स्थानीय जनप्रतिनिधिकोमा पुगिन् ।

आफन्त र पञ्चहरूबाट भएको अमानवीय व्यवहारविरुद्ध मन्तोरियाले धनौजी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार साहसमक्ष उजुरी दिँदा उनले उल्टै पञ्चको निर्णय स्वीकार गर्न भन्दै धम्की दिए । ‘वडाध्यक्ष साहले पनि समाजका पञ्चहरूले गरेको निर्णय स्वीकार गर्न र गाउँमै मिल्न सुझाब दिए,’ उनले भनिन् । वडाध्यक्षबाट समेत न्याय नपाएपछि उनले जिल्ला प्रहरी कार्यालय धनुषाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् । उनले दोषीको नाम किटान गरी कारबाही र न्यायको माग गर्दै उजुरी दर्ता गराएको बताइन् ।

केन्द्रकी प्रमुख दीपिका ओझाले मन्तोरिया कुटपिट घटनाको ठाडो उजुरी कर्यालयमा दर्ता भएको जानकारी दिँदै अभियुक्तको खोजी कार्य सुरु भएको बताइन् । मन्तोरियालले घटनाका विषयमा प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई समेत जानकारी गराएकी छिन् । मन्त्री यादवले घटनाको विषयमा अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया