थ्री स्टारलाई ३२ लाख

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका ए, बी र सी डिभिजन क्लबलाई फुटबल विकासमा लागि परेको भन्दै प्रोत्साहन रकम प्रदान गरेको छ । ललितपुरमा ५ ‘ए’ डिभजिन, ४ ‘बी’ डिभिजन र २ ‘सी’ डिभिजन क्लब रहेका छन् । ‘ए’ डिभिजनलाई वार्षिक ४, ‘बी’ लाई ३ र  ‘सी’ लाई २ लाख रुपैयाँ महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गर्दै प्रदान गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सम्बन्धित क्लबका अध्यक्षहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सोही अवसरमा गतवर्ष नकआउटका ११ वटा फाइनल खेल्दै ७ उपाधि जितेको रुस्लान थ्री स्टारलाई प्रत्येक उपाधिको ४ लाखका दरले थप २८ लाख रुपैयाँ प्रदान गरेको थियो । एउटा क्लबलाई मात्र नीतिगत निर्णयविना अधिक धनराशि दिएको देखिएकाले भन्दै बाँकी ४ वटा ‘ए’ डिभिजन क्लबले भने कार्यक्रम बहिष्कार गरेका छन् । बहिष्कार गर्नेमा जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, च्यासल क्लब र ब्रिगेड ब्वाइज क्लब रहेका छन् ।

महानगरपालिकाले थ्री स्टालाई फुटबलका माध्यमबाट जिल्ला र देशको प्रतिष्ठा बढाउन भूमिका निर्वाह गरेको भन्दा विशेष सम्मान गरिएको थियो । ३ पटकको सहिद स्मारक  ‘ए’ डिभिजन लिग च्याम्पियन खेल, थ्री स्टारले र एकपटक राष्ट्रिय लिगको उपाधि जितेको थियो । देशभित्र आयोजना हुने अधिकांश नकआउट प्रतियोगिता पनि थ्री स्टारले जितिसकेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगद परिषद्ले नीतिगत निर्णय गरेर क्लबहरूलाई प्रोत्साहन रकम प्रदान गरेको बताएका छन् । ‘थ्री स्टारलाई मात्र धेरै रकम दियौँ भन्ने उनीहरूको भनाइ देखियो,’ उनले भने । तर, त्यस्तो होइन, नीतिगत निर्णय सबै क्लबका लागि हो ।

आउने दिनमा अरू ‘ए’ डिभिजन क्लबले जित्दा पनि प्रत्येक उपाधिको ४ लाख रुपैयाँका दरले पुरस्कार दिन्छौँ । यो महानगरपालिकाको रातो किताबमा उल्लेख भइसकेको छ ।’ क्लबका तर्फबाट बोल्दै थ्री स्टारका कार्यवाहक अध्यक्ष अरुणमान जोशीले महानगरपालिकाको प्रत्साहनले फुटबल विकासमा अझै लागिरहन प्रेरणा मिलेको बताएका छन् ।

प्रतिक्रिया