अस्थायी शिक्षकको नतिजा तिहारपछि

काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारपछि मात्रै प्रकाशन हुने भएको छ । शिक्षक सेवा आयोगले धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहार अघि नै नतिजा सार्वजनिक गर्न नसकिने प्रस्ट्याएको छ ।

आयोगका प्रशासकिय प्रमुख डा. तुलसीप्रसाद थपलियाले तिहारअघि केही विषय र तहको नतिजा मात्र भए पनि सार्वजनिक गर्ने तयारी आयोगले गरे पनि त्यो सम्भव नहुने भएको जानकारी दिएका हुन् । उत्तरपुस्तिका परीक्षण सकेर रुजु तथा पुनः परीक्षण भइरहेको भन्दै थपलियाले बाँकी रहेको प्राविधिक काम यही गतिमा अघि बढे तिहार अघि नतिजा सार्वजनिक गर्न गाह्रो हुने बताए । धेरै जनशक्ति खुलातर्फको विज्ञापनमा खटाउनु परेकालेपनि आयोगले सोचेजस्तो काम गर्न नसकेको उनले बताए ।

आयोगले गत असार २९ र ३० गते कूल २२ हजार ७६ पदका लागि भएको अस्थायी शिक्षकको परीक्षामा २२ हजार २ सय ३५ परीक्षार्थी सहभागी थिए । प्राथमिक तहमा १५ हजार ६ सय ९०, निमाविमा ३ हजार ५ सय ७५ र माविमा २ हजार ९ सय ७० परीक्षार्थीले प्रतिस्पर्धा गरेका थिए ।

परीक्षाका लागि तीन वटै तहमा गरी २३ हजार २ सय ८६ अस्थायी शिक्षकले आवेदन दिएकामा १ सय ५९ शिक्षक परीक्षामा उपस्थिति भएका थिएनन् । यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

प्रतिक्रिया