अमेरिकामा अभिनेत्री गुरुङ सम्मानित

काठमाडौं । नेपाली मौलिक संस्कृति झल्किने चलचित्र निर्माण तथा अभिनय गरेवापत अभिनेत्री एन्सर्ज गुरुङलाई सम्मान गरिएको छ । जनजाति महासंघले अमेरिकामा आयोजित आदिवासी फिल्म फेस्टिभलमा गुरुङलाई सम्मानित गरेको हो । विशेष गरेर गुरुङ भाषाका चलचित्र प्हीरुमाला, मनको बाँबरी, म्ले क्यू (बिर्साउने पानी),आमाको मन लगायतका चलचित्रमा एन्सर्जले गरेको अभिनय तथा मौलिक कला–संस्कृति चिनाउन चलचित्र निर्माण गरेवापत सम्मान गरेको जनजाति महासंघ अमेरिकाले जनाएको छ ।

त्यस्तै यसअघि मौलिक नेपाली कला–संस्कृतिको क्षेत्रमा योगदान दिएवापत गत बर्ष तमुधिं युकेले त्यहाँको नेपाल मेलामा एन्सर्जलाई सम्मान गरेको थियो । बेलायत तथा अमेरिकामा योगदानको कदर स्वरुप सम्मान पाउँदा निक्कै हौसिएकी एन्सर्जले लोप हुन लागेका नेपाली मौलिक भाषा, कला तथा संस्कृतिलाई पहिचान गरेर चलचित्रको माध्यमबाट त्यसलाई उजागर गर्ने आफ्नो लक्ष्य भएको बताउँछिन् ।

पश्चिम नेपालको स्याङ्जामा जन्मी हुर्केकी एन्सर्जको खुबी तथा पहिचान भन्नु नै अभिनयका साथै नृत्य हो । सानैदेखि नृत्यमा सोख भएको बताउने उनले सबैखाले नृत्य गर्न सक्ने जनाइन् । चलचित्रका साथै उनले नेपाली लोक तथा दोहोरी गीत, सालैजो, कौडा, छोरीको वेदना लगायतका तीज गीत र आधुनिक गीत वियोगका म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।

स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेकी एन्सर्ज सामाजिक सेवामा पनि सक्रिय रहेकी छन् । समिदा वुमेन डेभलपमेन्ट फोरमको उपाध्यक्ष रहेर दुई वर्षभन्दा बढी एकल महिला तथा बालबालिकाको क्षमता विकास कार्यक्रममा सहयोगी बनेर कार्य गरिसकेकी छन् ।

प्रतिक्रिया